सुजल श्रेष्ठ
प्यूठान, जेठ ४ गते । प्युठान जिल्लामा हुलाक मार्फत राहदानी वितरण सुरु भएको छ । सरकारको शासकीय सुधारका १०० कार्यसूचि अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हुलाक कार्यालयबीच राहदानी सुरक्षित रुपमा सेवाग्राहीसम्म पुर्याउने समझदारी भएपछि घरमै सेवाग्राहीले राहदानी पाउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा राहदानीको फाराम भर्ने व्यक्तिबाट राहदानी प्राप्त गर्ने स्थानको विवरण समेत सङ्कलन गर्ने गरिएको छ । राहदानी सम्बन्धीत व्यक्तिले बुझे-नबुझेको विवरण अद्यावधिक गर्ने समझदारी समेत बनेको छ ।
जिल्ला प्रशासन कार्यालय प्युठानको २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार चार हजार सात सय २४ जनाले राहदानी बनाएका थिए । त्यसैगरी उक्त आर्थिक वर्षमा पाँच हजार आठ सय ८२ थान राहदानी कार्यालयले वितरण गरेको थियो । ०८०/०८१ मा पाँच हजार सात सय १३ जनाले राहदानी बनाएका थिए भने कार्यालयले पाँच हजार छ सय २० थान राहदानी वितरण गरेको थियो।
जिल्लामा जिल्ला हुलाक कार्यालय र आठ वटा स्थानीय तहमा पालिका हुलाक कार्यालय रहेका छन् । सम्बन्धित व्यक्तिको घरमै पुगेर राहदानीवाला व्यक्ति वा उसले तोकेको व्यक्तिलाई राहदानी हस्तान्तरण गर्न सुरु गरिसकेको जिल्ला हुलाक कार्यालय प्युठानका हुलाक अधिकृत निमराज भट्टराईले जानकारी दिुनभयो ।