काठमाडौँ, जेठ ४ गते । सांसदहरूले जनताका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानका लागि समयमै मल, बिउबिजनको व्यवस्था गर्नुपर्ने लगायतका जनसरोकारका विषयमा गम्भिर बन्न सरकारलाई सचेत गराउनुभएको हो ।
सांसद लामिछानेले किसानलाई खेतीपातीका लागि आवश्यक सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “किसानहरू खेती गर्ने मुख्य समयमा मल, बिउबिजन र आवश्यक कृषि औजारको अभावमा छन् । समयमा मल नपाउँदा उत्पादनमा ह्रास आउने सम्भावना छ । यसले किसान निराश भइरहेका छन् र कृषि पेसा नै सङ्कटमा पर्दै गएको छ । आफ्ना खेतबारीका उत्पादन खेतदेखि पेटसम्म र गोठमा उत्पादित वस्तु गोठदेखि ओठसम्म पुर्याउन मिहिनेत गर्ने कृषकलाई सम्झेर सरकारसँग माग गर्दछु—खेतीको समयमा आवश्यक पर्ने मल, बिउबिजन र कृषि औजार सहज, सुलभ र समयमै उपलब्ध गराउने सुनिश्चितता गरियोस् ।”
सांसद इन्दिरा रानामगरले झापामा एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा उत्पादन गरिँदा वायु प्रदूषण बढेको भन्दै त्यसलाई तत्काल हटाउन सरकारसँग माग गर्नुभयो । उहाँले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “झापा क्षेत्र नम्बर २ मा वायु प्रदूषणका कारण धेरै क्यान्सर पीडित छन् । एसियन हाइवे बनाउने भनेर बस्तीमा अलकत्रा उद्योग सञ्चालन गरिएको छ । हटाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै, पाटन औद्योगिक क्षेत्र घरेलु उद्योगका लागि छुट्याइएको भए पनि अहिले ठुला उद्योग सञ्चालन हुँदा धेरै मानिस बिरामी भएका र केहीको मृत्यु समेत भएको जानकारी आएको छ ।”
सांसदहरूले सरकारले पर्यटन प्रवर्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । साथै कर्मचारी नियुक्ति प्रक्रियामा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
सांसद श्रेष्ठले भन्नुभयो, “सक्षम पदाधिकारी नियुक्त गर्ने कार्यमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रभावकारी पर्यटन प्रवर्धनका लागि सक्षम र सिर्जनात्मक नेतृत्व तथा संरचना तत्काल आवश्यक छ । सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यो निवेदन गर्न चाहन्छु ।”
सांसद श्रेष्ठले सरकारले नागरिक सेवासम्बन्धी कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।