काठमाडौँ, जेठ ४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरि छ वटा प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न आवेदन खुला गरेको हो ।
उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट वैशाख ३१ मा स्वीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयको उल्लेख गरेको छ ।
कार्यविधिमा प्रतिष्ठानलाई चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान, नवप्रवर्तन तथा जनशक्ति उत्पादनका उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सक्षम, निष्पक्ष, अनुभवी, दूरदर्शी तथा नतिजामुखी नेतृत्व छनोट गर्ने उद्देश्य उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार इच्छुक योग्य व्यक्तिले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमा दरखास्त दिन सक्ने छन् ।
मन्त्रालयले आवेदनसम्बन्धी विस्तृत कार्यविधि पनि वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।