काठमाडौँ, जेठ ४ गते । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ ।
गत बिहीबार (मे १४)को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो ।
उक्त टोलीमा नेपाली गाइड ङिमा दोर्जे तामाङ र दावा नुरु शेर्पा हुनुहुन्छ ।
हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । उक्त टोली ‘रोप फिक्सिङ’ टोलीपछि सगरमाथा चुचुरो पहिलोपटक पुगेको थियो ।
एक्सपिडिसनका सञ्चालक उत्सव पाठक (८८४८.८६) मिटर उचाइको सगरमाथा र (८५१६) मिटर उचाइको लोत्से आरोहण गर्ने पहिलो टोली बनेको बताउनुभयो ।
सामान्यतया सगरमाथा चढेपछि आरोहीहरू क्याम्प ४ मै बसेर लोत्से आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प २ मा झरेर पुनः लोत्सेको आरोहण गरेको हो । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत हाल सगरमाथामा ६ जना र सगरमाथा तथा लोत्सेमा तीन जनाको टोली आरोहणका लागि गएको छ ।
साथै, हिमाल आरोही कामिरिता शेर्पाले आइतबार बिहान ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउनुभएको छ भने महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको गरेर आफ्नै रेकर्ड तोड्नुभएको छ । रासस