विजयकुमार साह
ढल्केबर, जेठ ४ गते । मानव सेवा आश्रमको टोलीले मधेश प्रदेशबाट ३५ जना सडकआश्रित मानवको उद्धार गरेको छ । मानव सेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालित ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा २०८३’ का टोलीले आइतबार साँझसम्म मधेशका विभिन्न स्थानबाट ३५ जना सडकआश्रित मानवको उद्दार गरेको हो ।
मानव सवा आश्रमका केन्द्रीय महासचिव सुशिला केसीले उद्धार गरिएकामध्ये २८ जना पुरुष र सात जना महिला रहेको बताउनुभयो । वर्षायाममा कसैले पनि सडकपेटीमा कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशबाट ४८ जना सडकआश्रित मानवको उद्धार गरिएको छ, जसमध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् ।
महासचिव केसीले सडक मानवमुक्त देश बनाउने सरकारको अभियानलाई सफल बनाउन आश्रमका अभियान्ता देशव्यापी उद्धार यात्रामा खटिएको बताउनुभयो । उहाँले सडकपेटी, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गरी आश्रममा संरक्षण, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो ।
वैशाख २७ गते काठमाडौंबाट सुरु गरिएको यो अभियान जेठ २२ गतेसम्म रहनेछ । मेची पुलमा दीप प्रज्ज्वलन गरी औपचारिक रूपमा सुरु गरिएको यात्रामा २४ जना सहभागी छन् । महासचिव केसीले सडकआश्रित मानव देखिएमा उद्धार कार्यमा सहजीकरणका लागि नजिकको प्रहरी कार्यालय वा आश्रमलाई जानकारी गराइ सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।