राजन रावत
हुम्ला, जेठ ४ गते । नेपाल–चीन सीमास्थित हिल्सामा नेपालीहरूले महँगो शुल्क तिरेर चिनियाँ इन्टरनेट प्रयोग गर्न बाध्य हुनुपरेको छ । सो क्षेत्रमा नेपाल टेलिकमले हालसम्म फोरजी सेवा विस्तारका लागि टावर स्थापना नगरेकाले स्थानीयले विकल्पका रूपमा चिनियाँ नेटवर्क प्रयोग गर्नुपरेको हो ।
हिल्साका स्थानीय बहादुर लामाले महँगो शुल्क तिरेर इन्टरनेट प्रयोग गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार विकल्प नहुँदा बाध्य भएर चिनियाँ इन्टरनेट प्रयोग गर्नुपरेको हो ।
उहाँले एक पटकमा करिब १०० चिनियाँ युआन बराबरको रिचार्ज गरेर इन्टरनेट चलाउने गरेको बताउनुभयो । उक्त रकम ताक्लाकोट पुगेर वा त्यहाँ रहेका साथीमार्फत भुक्तानी गर्ने गरिएको उहाँको भनाइ छ । हाल एक युआन करिब २३ नेपाली रुपियाँ पर्छ । १०० युआनले करिब एक हप्ताजति इन्टरनेट चल्ने र त्यसलाई पनि मितव्ययी रूपमा प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
यसरी चिनियाँ सिममार्फत इन्टरनेट चलाउँदा मासिक रूपमा करिब तीन सयदेखि चार सय युआन खर्च हुने गरेको स्थानीय सोनाम लामाले बताउनुभयो । उहाँका अनुसार यसले एक महिनामा करिब पाँच हजार सात सयदेखि सात हजार ६ सय रुपियाँसम्म खर्च पर्ने गरेको छ ।
हिल्सामा महँगो शुल्क तिरेर इन्टरनेट प्रयोग गर्नेमा स्थानीय व्यवसायी मात्र नभई सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारीसमेत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख कृष्ण दाहालले बताउनुभयो । उहाँका अनुसार सेवा महँगो भए पनि गुणस्तरीय र भरपर्दो छैन ।
हिल्सामा चार वटा सरकारी कार्यालय, १५ वटा होटल र करिब २० घरधुरी स्थानीय बसोबास गर्दै आएका छन् । यहाँका अधिकांशले चिनियाँ इन्टरनेट प्रयोग गर्दै आएका छन् ।
नारा लेक क्षेत्रमा हिल्सालाई लक्षित गरी मोबाइल टावर स्थापना गरिएको भए पनि हालसम्म फोरजी सेवा सञ्चालनमा नआएकाले समस्या भएको स्थानीयको भनाइ छ । छिट्टै फोरजी टावर स्थापना गर्न स्थानीयले माग गरेका छन् ।