• ४ जेठ २०८३, सोमबार

छात्रालाई साइकल वितरण

blog

वितरण गरिएका साइकल लिएका छात्राहरू । तस्बिर : विनय कर्ण

कल्याणपुर समाचारदाता 

कल्याणपुर (सप्तरी), जेठ ४ गते  । सप्तरीको महदेवा गाउँपालिकाका अध्ययनरत छात्रालाई साइकलसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने गरिब, दलित तथा विपन्न परिवारका ७९ जना छात्रालाई आइतबार शैक्षिक सामग्रीसहित साइकल वितरण गरिएको हो । 

हाम्रो समाज नेपाल केन्द्रीय कार्यालय महदेवा गाउँपालिका–५, भगवतपुरले नेपाल भिलेज फाउन्डेसन युकेको सहयोगमा ‘बालिका शिक्षा परियोजना’ अन्तर्गत कक्षा ७ देखि १० सम्ममा नयाँ भर्ना भएका २१ जना छात्रालाई साइकलसहित शैक्षिक सामग्री र ५८ जना छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराइएको नेपाल भिलेज फाउन्डेसनका निर्देशक कृतनारायण शर्माले जानकारी दिनुभयो । 

उहाँले गरिब, दलित र विपन्न परिवारका छात्रालाई वर्ष दिन नै पुग्ने गरी कपी, डटपेन, पेन्सिल, क्यालकुलेटर, जोमेट्री बक्स, स्कुल ब्याग र छातासहितको सामग्री उपलब्ध गराइएको बताउनुभयो ।

महदेवा गाउँपालिकाको सबै वडाबाट गरिब, दलित र विपन्न परिवारका बालिकालाई छनोट गरी छोरीलाई शिक्षामा अगाडि बढाउन प्रत्येक वर्ष यसरी नै साइकल तथा शैक्षिक सामग्री वितरण गर्दै आएको संस्थाका परियोजना प्रमुख रामनारायण शर्माले जानकारी दिनुभयो । 

साइकल र शैक्षिक सामग्री पाएपछि खुसी व्यक्त गर्दै माध्यमिक विद्यालय बथनाहाका कक्षा १० मा अध्ययनरत छात्रा प्रियाकुमारी गिरीले यो संस्थाको नियमित सहयोगले हामीलाई अध्ययन गर्न सहज भएको बताउनुभयो । आमाबुवा गरिब भएकाले समयमै कपीकलम पनि किन्न गाह्रो भइरहेका बेला यस्तो सहयोगले ठुलो मद्दत पुगेको धारणा राख्नुभयो । यस्तै सोही विद्यालयको कक्षा १० मै अध्ययनरत पायलकुमारी गिरी र मोनिका रायले साइकल पाएपछि खुसी व्यक्त गर्दै टाढा रहेको विद्यालय हिँडेर जाने बाध्यता हटेको सुनाउनुभयो ।

संस्थाका अध्यक्ष शिवानीकुमारी शर्माको अध्यक्षतामा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा अध्यक्ष शर्मा, संस्थापक वैद्यनाथ यादवसहितका अतिथिले छात्रालाई साइकलसहित शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

संस्थाका संस्थापक वैद्यनाथ यादवले २०६७ सालदेखि निरन्तर यसरी नै बालिकालाई उच्च शिक्षा हासिल गर्नमा सहयोग गर्दै आएको ‘हाम्रो समाज नेपाल’ ले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै विपत्का बेला पनि अग्निपीडित र बाढीपीडितलाई सहयोग गर्दै आएको बताउनुभयो ।