• ४ जेठ २०८३, सोमबार

धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

blog

तमोर करिडोरमा दुर्घटनामा परेको सवारी । तस्बिर : गोरखापत्र

राधा लुइटेल
फिदिम, जेठ ४ गते ।
सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सोमबार बिहान भएको दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

दुर्घटनामा एक महिला यात्रु बसभित्रै च्यापिएको अवस्थामा रहेको र उहाँको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । धरानबाट पाँचथरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस बिहान करिब ९ः३० बजे पाँचथर र धनकुटाको सीमावर्ती नावाखोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ निवासी २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते हुनुभएको छ । अन्य दुई जना घाइतेको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको छ । दुर्घटनापछि बसभित्र च्यापिएकी महिला यात्रुको अवस्था चिन्ताजनक रहेको र उद्धार कार्य तीव्र पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार दुर्घटनास्थल तमोर करिडोरअन्तर्गत नावाखोला पारिको क्षेत्रमा पर्छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।