• ४ जेठ २०८३, सोमबार

म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

blog

बेनीको मङ्गलाघाटमा म्याग्दी नदी कटान रोक्न पक्की पर्खाल निर्माण गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ४ गते ।
बेनी नगरपालिका–७, मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न पक्की संरचना निर्माण सुरु गरिएको छ । नदी कटानको उच्च जोखिममा रहेको बजारलाई संरक्षण गर्न पक्की पर्खाल निर्माण थालिएको हो ।

जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीमार्फत करिब एक करोड रुपियाँ लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण सुरु गरिएको हो ।

बेनी बजार संरक्षण आयोजना अन्तर्गत मङ्गलाघाट बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण थालिएको आयोजना कार्यालय पोखराका इन्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी नदी किनारमा ५५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिनेछ ।

उक्त आयोजना निर्माणका लागि आयोजना कार्यालय पोखराले भैरवी इन्जिनियरिङ प्रा.लि.सँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार २९५ रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।

आगामी असार १९ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएकाले निर्माण व्यवसायीले उपकरण र मजदुर परिचालन गरी पर्खाल निर्माण कार्य सुरु गरेको इन्जिनियर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदी कटानको उच्च जोखिममा रहेको बजार भएकाले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ । नदीमा पानीको सतह बढ्नुअघि नै पर्खाल निर्माण गरिसक्ने योजना छ ।”

नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्याबियन पर्खाल निर्माण गरिने उहाँले बताउनुभयो ।

मङ्गलाघाटमा यसअघि नै आयोजनामार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पक्की पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाट क्षेत्रमा दुई सयभन्दा बढी घर, सरकारी कार्यालय तथा कर्मचारी आवास भवन रहेका छन् ।

आयोजना कार्यालय पोखरामार्फत विगत पाँच वर्षदेखि बेनी बजार संरक्षण आयोजना सञ्चालन हुँदै आएको छ । कालिगण्डकी नदी किनारतर्फको अघिल्लो वर्षको पक्की पर्खाल निर्माण योजना सम्पन्न भइसकेको छ ।