भक्तिविलास पोखरेल
गाईघाट, जेठ ४ गते । पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्यवृद्धिले निर्माणाधीन अवस्थामा विकासनिर्माणका कतिपय ठुला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन् ।
डिजेल, पेट्रोल अलकत्रालगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दोब्बर वृद्धि भएको र त्यसबाट आर्थिक सङ्कटमा परेकाले बिचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायी बताउँछन् ।
उदयपुर जिल्लाको घुर्मीदेखि सुनसरी जिल्लाको चतराघाटसम्मको १६७ किलोमिटर लामो कोशी कोरिडोरको काम, उदयपुरको कटारी नगरपालिका–१० स्थित घुर्मीदेखि भालुखोला हँुदै आम्बोटेसम्मको १४ किलोमिटर लामो सडकखण्ड निर्माण बिचैमा अलपत्र अवस्थामा पुगेको हो ।
डिसिडिआर जेभी निर्माण कम्पनी गाईघाटका निर्माण व्यवसायी जीवन कार्कीले सडक निर्माण गरिने क्षेत्र कोशी गड्तिरको अनकन्टार भिरालो भूभागमा धेरै काम मेसिनले गर्नुपर्ने भएकाले इन्धनको मूल्यवृद्धिले आपूmलाई घुडा टेकाएको बताउनुभयो । कार्कीले भन्नुभयो, “सरकारले कि मूल्य समायोजन गर्नु प-यो कि त योजनाको म्याद थप गरेर काम सम्पन्न गर्नुपर्ने समयावधि बढाइ दिनु प¥यो नत्र यही अवस्थामा योजना सम्पन्न गर्न नसकिने निश्चित भएको छ ।”
उक्त कम्पनीले घुर्मी–चतरा सडकको भालुखोला आम्बोटे क्षेत्रको यसअघि नै ट्र्याक खुलेको सात किलोमिटर सडकखण्डमा विभिन्न स्ट्रक्चरको निर्माणसहित ११ मिटरको चौडा बनाउँदै छ । दुई करोड ८३ लाख ११ हजार ५४८ रुपियाँमा काम सम्पन्न गर्ने गरी २०८२ फागुन २७ मा सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गासँग ठेक्का सम्झौता गरी सडक निर्माणको काम गर्दै आएको छ ।
सम्झौता अनुसार आउँदो असार २५ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्र्नेे भए पनि इन्धनलगायत छड, सिमेन्ट, तारजाली जस्ता निर्माण सामग्री तथा ढुवानीमा भएको चर्को मूल्यवृद्धिले आपूmहरूलाई आर्थिक रूपमा ठुलो समस्या निम्त्याएको निर्माण व्यवसायी कार्कीले बताउनुभयो ।
अजय लामा जेभी निर्माण कम्पनी सिराहाका निर्माण व्यावसायी सुरेश भट्टका अनुसार उहाँको कम्पनीले घुर्मी चतरा सडकखण्डको घुर्मीदेखि भालुखोलासम्मको सात किलोमिटर क्षेत्रमा चार किलोमिटरसम्म पुरानो ट्र्याकलाई ११ मिटरमा चौडा बनाउने र तीन किलोमिटर चाहिँ ११ मिरटर चौडाइको नयाँ ट्र्याक खोलेर सडक बनाउने काम गर्दै आएको छ ।
यसका लागि आयोजनासँग चार करोड २२ लाख रुपियाँमा काम सम्पन्न गर्ने गरी २०८२ सालको पुस महिनामा ठेक्का सम्झौता भएको तर त्यतिबेला सम्झौता हँुदाका बखत भएको भएको मूल्य र अहिलेको मूल्यमा आकास जमिनको फरक परेकाले सरकारले मूल्य समायोजन नगरे काम सम्पन्न गर्न ठुलो समस्या खडा भएको ठेकेदार भट्ट बताउनुहुन्छ ।
डिभिजन सडक कार्यालय हर्कपुरका साइड इन्चार्ज इन्जिनिएर सतीश साहसँग सम्पर्क गर्दा उहाँले घुर्मी–चतरा सडकको घुर्मी भालुखोला आम्बोटेसम्मको १४ किलोमिटर सडकखण्ड निर्माण धमाधम भइरहेको तर मूल्य समायोजन गरिपाऊँ भनी निर्माण कम्पनीबाट निवेदन आएकोमा सोको कारबाहीका लागि माथिल्लो निकायमा लेखी पठाइएकोमा हालसम्म यस विषयमा कुनै जानकारी नआएको बताउनुभयो ।