• ५ जेठ २०८३, मङ्गलबार

हेटौँडाको ज्योति माविमा ११ कक्षामा निःशुल्क अध्ययनको व्यवस्था गरिने

blog

माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ज्योति मावि हेटौँडा १८ बाट ग्रेडेड भएका विद्यार्थीको सम्मान कार्यक्रम ।

राममणि दाहाल

मकवानपुर, जेठ ५ गते । हेटौँडा उपमहानगरपालिका-१८ऽ हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा निःशुल्क अध्ययनको व्यवस्था गरिने भएको छ । शैक्षिक सत्र २०८३ मा कक्षा–११ मा अभिभावकहरूबाट कुनै शुल्क नलिई विद्यालयमा अध्ययनको व्यवस्था मिलाइने भएको हो । 

माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उक्त विद्यालयबाट सहभागी ग्रेडेड भएका विद्यार्थी र अभिभावकहरूलाई प्रशंसापत्र तथा उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने शिक्षकहरूको विद्यालयमा आयोजित सम्मान कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १८ का वडाध्यक्ष अनिलकुमार बानियाँले ११ कक्षामा निःशुल्क शिक्षाको घोषणा गर्नुभएको हो । 

उहाँले शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने भन्दै विद्यार्थीले तिर्नुपर्ने सबै शुल्क वडा कार्यालयले बेहोर्ने बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था हुने घोषणा गर्नुभएको जानकारी दिँदै निःशुल्क शिक्षाले अध्ययन गर्न चाहने तर आर्थिक रूपमा विपन्न विद्यार्थीलाई सहयोग पुग्ने बताउनुभयो ।

उक्त विद्यालयमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा तथा सिटिइभिटीतर्फ सूचना प्रविधि विषयमा तीन वर्षे डिप्लोमाको अध्यापन हुँदै आएको छ । विद्यालयमा कक्षा १२ मा हाल २४ जना विद्यार्थी अध्ययनरत छन् ।

उक्त विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ६५ जना विद्यार्थी सहभागी भएकोमा ४१ जना ग्रेडेड भएका थिए ।