लीलाधर वली
घोराही, जेठ ५ गते । लमही नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्त्वपूर्ण अभियान भएको बताउनुभयो ।
उहाँले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न ठुलो भूमिका खेल्ने बताउँदै स्थानीय तह, स्वास्थ्यकर्मी र अभिभावकबिचको सहकार्यकै कारण यो उपलब्धि सम्भव भएको बताउनुभएको थियो । उहाँले खोप अभियानलाई निरन्तर प्रभावकारी बनाउन समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउँदै प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई समयमै खोप लगाउने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो । नगर प्रमुख चौधरीले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न स्थानीय तहले आवश्यक बजेट व्यवस्थापन गर्दै गुणस्तरीय सेवा विस्तारमा जोड दिनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद शर्माले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियान अन्तर्गत पालिकाले पूरा गरेका सूचक, खोप कार्यक्रमको अवस्था तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार नियमित खोप सेवाबाट बालबालिकालाई पोलियो, दादुरा, क्षयरोग, हेपाटाइटिसलगायतका विभिन्न रोगबाट सुरक्षित राख्न सकिने छ । लमही नगरपालिकाको १ देखि ९ नम्बर वडालाई पूर्णखोप सुनिश्चितता वडा प्रमाणपत्र प्रदान गरिएको थियो ।
लमही नगरपालिकाले चालु आर्थिक वर्षमा ४ हजार ९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेकोमा ३ हजार ६ सय ६० जना बालबालिकालाई घरभेट कार्यक्रममार्फत खोप लगाइएको जानकारी गराउनुभएको थियो ।