• ५ जेठ २०८३, मङ्गलबार

आर्थिक सुशासनमा अब्बल बन्दै शून्य बेरुजुमा सोलुदुधकुण्ड

blog

सन्तोष राउत 

सोलुखुम्बु, जेठ ५ गते । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका आर्थिक वर्ष २०८१-८२ मा आर्थिक सुशासनमा अब्बल बन्दै बेरुजु शून्य प्रतिशत बनाएको छ । अघिल्लो वर्ष बेरुजु कम गर्दै कोशी प्रदेशमा पहिलो र नेपालकै दोस्रो कम बेरुजु भएको नगरपालिकाले यस वर्ष बेरुजु प्रतिशत शून्यमा झारेको हो ।

नगरपालिकाको कुल एक अर्ब ६९ करोड ६३ लाख २६ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा शुन्य प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

सोलुदुधकुण्ड नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखि स्थानीय शासनको अभ्यास गर्दै सुशासन र वित्तीय अनुशासनप्रतिको प्रतिबद्धताका कारण यो नतिजा प्राप्त भएको सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।

‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनताप्रति प्रतिबद्ध नेतृत्वको प्रतिफल हो । हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवामुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ,’ नगरप्रमुख शेर्पाले भन्नुभयो । नागरिकप्रति उत्तरदायी जनप्रतिनिधि र इमानदार कर्मचारीहरूको निरन्तर प्रयासले यो सम्भव भएको उहाँको भनाइ छ ।

सोलुदुधकुण्ड नगरपालिकाको सफलता केवल वित्तीय अनुशासनको सीमामा मात्र सीमित नभई सामाजिक समावेशिता, जनसहभागिता र सामुदायिक विश्वासमा आधारित समग्र प्रयासको परिणाम भएको भन्दै सबै वर्ग, समुदाय र भौगोलिक क्षेत्रका नागरिकहरूलाई समेटेर ‘समृद्ध नगर, सशक्त समुदाय’ निर्माणमा समर्पित रहेको नगर प्रमुख शेर्पाको भनाइ छ । 

वित्तीय अनुशासनसँगै, भौतिक, सामाजिक र मानव विकासका सूचकहरूमा पनि गुणात्मक सुधार ल्याउन कटिबद्ध रहेको बताउने नगर प्रमुख शेर्पाले पारदर्शी लेखापरीक्षण प्रणाली, नागरिकमैत्री सेवा प्रवाह, पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा समावेशी कार्यक्रमहरू नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । 

नगर प्रमुख शेर्पाले यस सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला, विकास साझेदार तथा सहयोगीहरूप्रति सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभएको छ ।