बेइजिङ, जेठ ५ गते । चीनले स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा विस्तार गरिरहेको छ । दन्त उपचारदेखि लिएर रोग पहिचान, चिकित्सा निर्णय सहयोग र रोग जोखिम पूर्वानुमानसम्म यस प्रविधिले चिकित्सक र बिरामी दुवैको अनुभव परिवर्तन गरिरहेको छ ।
पश्चिम चीन दन्त अस्पतालमा प्रयोग भइरहेको कृत्रिम बुद्धिमत्तामा आधारित “स्मार्ट ब्रेन” प्रणालीले केही सेकेन्डमै ३० भन्दा बढी सामान्य दन्त रोगको पहिचान गर्न सक्छ । साथै, यसले बिरामीलाई सजिलै बुझ्न सकिने दृश्यात्मक निदान चार्ट पनि तयार गर्छ । अस्पतालका दन्त चिकित्सक वाङ चेङलिनका अनुसार पहिले जटिल चिकित्सा शब्द बुझाउन धेरै समय लाग्थ्यो, तर अहिले कृत्रिम बुद्धिमत्ताले बिरामीलाई आफ्नै अवस्थाबारे स्पष्टरूपमा बुझ्न सहयोग गरेको छ ।
उक्त अस्पतालमा प्रयोग भइरहेको क्लिनिकल स्तरको ठूलो कृत्रिम बुद्धिमत्ता मोडेलले युवा चिकित्सकलाई “क्लाउड मेन्टर” जस्तै मार्गदर्शन गर्छ, जसले ८० देखि ९० प्रतिशतसम्म सटीकता सहित प्रारम्भिक रोग पहिचान र उपचारमा सहयोग पुर्याउँछ । यो विकास चीन भर फैलिँदो प्रवृत्तिको हिस्सा हो । कृत्रिम बुद्धिमत्ताले मेडिकल छवि विश्लेषण, क्लिनिकल निर्णय सहायता र स्वास्थ्य जोखिम अनुमानजस्ता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
सरकारले पनि यसलाई प्राथमिकता दिएको छ । २०२५ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोगलगायत निकायले स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता प्रयोग बढाउन दिशानिर्देश जारी गरेका थिए । साथै, चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६/२०३०) ले डिजिटल तथा स्मार्ट प्रविधिको प्रयोगलाई स्वास्थ्य व्यवस्थापन, प्रिसिजन चिकित्सा, बीमा सेवा र वृद्ध हेरचाहमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
आंकडाअनुसार, २०२५ मे १ सम्म चीनमा करिब तीन सय मेडिकल ठूला मोडेल विकास भइसकेका छन् भने ग्रामीण स्तरका टेलिमेडिसिन छवि सेवाले ६८ मिलियनभन्दा बढी केस प्रशोधन गरिसकेका छन् । तर विशेषज्ञले चुनौती पनि औंल्याएका छन्, जस्तै उच्च गुणस्तरको चिकित्सा डाटाको अभाव र गलत निदानको जोखिम । पश्चिम चीन दन्त अस्पतालकी विभाग प्रमुख झाङ होङयिङका अनुसार सामान्य कृत्रिम बुद्धिमत्ता मोडेल क्लिनिकल सोच बुझ्न पर्याप्त सक्षम हुँदैनन् र व्यक्तिगत निदानमा सीमित हुन्छन् ।
यस समस्याको समाधानका लागि चिकित्सक र प्रविधि क्षेत्रबिच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको विशेषज्ञको भनाइ छ । हालै, प्रविधि कम्पनी अलिबाबाले हाङझाउमा मेडिकल कृत्रिम बुद्धिमत्ता सहायक सार्वजनिक गरेको छ । साथै, उसले बीएमजे समूहसँग विशेष सामग्री साझेदारी सम्झौता पनि गरेको छ, जसले विगत १० वर्षका ७० वटा चिकित्सा जर्नलका सामग्री कृत्रिम बुद्धिमत्ता प्रशिक्षणका लागि प्रयोग गर्न अनुमति दिन्छ ।
विशेषज्ञका अनुसार भविष्यमा चीनले आफ्नै मेडिकल कृत्रिम बुद्धिमत्ता मापदण्ड विकास गर्ने दिशामा अघि बढिरहेको छ, जसले विश्वव्यापी स्वास्थ्य कृत्रिम बुद्धिमत्ता शासनमा पनि योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा