काठमाडौँ, जेठ ५ गते । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाइ प्रहरी सेवाको डिजिटलीकरणलाई तिब्रता दिने योजनासमेत छ ।
प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न ७ रणनीतिक क्षेत्र तय गरिएका छन् । रणनीतिक योजनाले प्रहरी संगठनभित्र नीतिगत तथा कानुनी सुधार, समुदाय-प्रहरी सहकार्य संस्थागत गर्ने, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन र सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने तथा वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको छ ।
रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको नयाँ रणनीतिक योजना केवल कागजी दस्तावेज नभई संगठनलाई समय अनुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताउनुभयो । उहाँले रणनीतिक योजनाको सफल कार्यान्वयनका लागि संगठनको जवानदेखि माथिल्लो दर्जासम्मका सबै कर्मचारीको समान जिम्मेवारी रहने बताउनुभयो ।
उहाँले रणनीतिक योजना प्रहरी संगठनको समग्र कार्यदिशा भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा लाग्न सबै तहका कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको रणनीतिक योजना सामूहिकताको प्रतिफल हो । यसलाई नागरिक केन्द्रित बनाउन हामी सबै लाग्नुपर्छ । कसैले झुक्किएर नेपाल प्रहरीमा जागिर खाएको भएपनि यसमै योगदान गर्नुपर्ने हुन्छ ।
‘हामीले चाहाना र भावनाले खाएको हुनाले यसमा दिलचस्पी छँदैछ,’उहाँले भन्नुभयो,‘यो हाम्रो मात्र नभई संगठनको समग्र कार्ययोजना भएको हुनाले यसको सफलता सडकमा खटिने जवानदेखि आईजीसम्मको हो ।’ त्यसैले यो संगठनलाई समयानुकुल बनाउन टेवा पुग्नेछ भन्ने विश्वास छ ।
जवाफदेहिता र उत्तरदायित्व जस्ता शब्द बोकेको यो कार्ययोजना सेवाग्राहीको सन्तुष्टि केन्द्रित नतिजामुखी संगठनको चाहाना छ । यो चाहाना नागरिक तहबाट व्यक्त भएको छ । आईजीपी कार्कीले नागरिक तहबाट व्यक्त अपेक्षाअनुसार प्रहरी सेवाको सुधार गर्दै संगठनको पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।