खेमराज सापकोटा
रानी, जेठ ५ गते । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ ।
हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आईसीपीतर्फ मोड्ने क्रममा साइकलमा सवारलाई ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उहाँकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको न्यौपानेले जनाउनुभयो ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उहाँहरूलाई मृत घोषणा गरेका थिए ।
घटनापछि दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । स्थानीयको ठूलो भिड जम्मा भएपछि केही समय अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ ।
प्रहरीले ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।