• ५ जेठ २०८३, मङ्गलबार

राजविराज नगरपालिकाका कर्मचारीमाथि कुटपिट

blog

राजविराज नगरपालिकाको कार्यालय ।

धीरेन्द्रप्रसाद साह

राजविराज, जेठ ५ गते । राजविराज नगरपालिकाका सवइन्जिनियर मनोजकुमार यादवमाथि मंगलबार कार्यक्षेत्रमै कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि नगरपालिकाको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरपालिकाका अनुसार वडा ८ मा सञ्चालन भइरहेको सडक निर्माण योजनाको निरीक्षण तथा अनुगमन गर्न गएको टोलीमाथि मंगलबार बिहान करिब १० बजे आक्रमण भएको हो । 

सो क्रममा राजविराज–५ स्थायी घर भई हाल वडा ८ मा बसोबास गर्दै आएका गुलाव यादवले कुनै पूर्वजानकारी वा विवाद बिना सवइन्जिनियर यादवमाथि गालीगलौज, कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।

घटनामा सवइन्जिनियर यादवले साथमा बोकेको ल्यापटपसमेत तोडफोड गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । अनुगमन तथा प्राविधिक कार्यकै क्रममा कर्मचारीमाथि भएको व्यवहारप्रति नगरपालिकाका कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

घटनालगत्तै नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूले संयुक्त हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । 

विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारी आफ्नो जिम्मेवारी निर्वाह गर्न जाँदा असुरक्षित वातावरण सिर्जना हुनु दुःखद र अस्वीकार्य भएको उल्लेख गरिएको छ ।

“कर्तव्यपालनका क्रममा कर्मचारीमाथि भएको अभद्र, अमर्यादित तथा गैरकानुनी व्यवहारको सम्पूर्ण कर्मचारीले घोर भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले दोषीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही नभएसम्म तथा कर्मचारीलाई सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्ने सुनिश्चितता नगरिएसम्म आकस्मिक बाहेकका सबै सेवा स्थगित रहने जनाएको छ । यस निर्णयसँगै दैनिक प्रशासनिक सेवा, योजनासम्बन्धी कामकाज तथा शाखागत सेवा प्रभावित भएका छन् ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई परेको असुविधाप्रति कर्मचारीहरूले क्षमायाचनासमेत गरेका छन् । नगरपालिका कार्यबाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ दिइएको विज्ञप्तिमा इन्जिनियर अजयकुमार यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादव, योजना अधिकृत मनोजकुमार यादव, शाखा अधिकृत अजयकुमार साह लगायत विभिन्न शाखाका कर्मचारीहरूको हस्ताक्षर रहेको छ ।