• ५ जेठ २०८३, मङ्गलबार

नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीको छापा

blog

ललितपुर, जेठ ५ गते । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । साथै उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवल लगायत महंगा ब्राण्डेड रक्सी समेत बरामद गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको विर्ख बहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरुमा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–२ बस्ने ३० वर्षीया मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीया विनोद तामाङ, २६ वर्षीया विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षिय छिदेन निमा तामाङ छन् ।

साथै सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ ।बराद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न सकिएको छैन ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।