काठमाडौँ, असार २४ गते । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सक सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलनमा उत्रिएका चिकित्सकले मङ्गलबार आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।
आन्दोलनमा उत्रिएका चिकित्सकले मङ्गलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द भए।
उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक सङ्घले सोमबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेर आन्दोलन चर्काएका हुन्।