• २४ असार २०८२, मङ्गलबार

यु–१६ युथ लिग : मच्छिन्द्र र जावलाखेल विजयी

blog

बल खोस्ने प्रयास गर्दै मच्छिन्द्र र प्लानिङ ब्वाइजका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असार २४ गते । मच्छिन्द्र र जावलाखेल क्लबले एन्फा यू–१६ युथ लिगमा जित निकालेका छन् ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई ७–० गोलले हरायो । एकपक्षीय खेलमा मच्छिन्द्रलाई जिताउन किरण धामी र समुन बमठकुरीले दुई दुई गोल गर्नुभयो ।

विकास थापा, राहुलकुमार योञ्जन र आर्यवीर सिंहले एक एक गोल गर्नुभयो । लिगमा लगातार दोस्रो जित निलकोको मम्छिन्द्रले ६ अङ्क बनाएको छ ।

पहिलो हार खेपेको प्लानिङको दुई खेलबाट तीन अङ्क छ । मच्छिन्द्रले पहिलो खेलमा एपिएफ र प्लानिङले सातदोबाटो युथ क्लबलाई हराएको थियो । 

यस्तै अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा जावलाखेलका लागि विशाल शाहीले दुई गोल गर्नुभयो । अर्को गोल प्रिन्स भुजेलले थप्नुभयो ।

आर्मीका लागि निरज अधिकारी र सोहित वाइबाले एक एक गोल फर्काउनुभयो । दोस्रो खेलमा पहिलो जित निकालेको जावलाखेलले तीन अङ्क बनाएको छ ।

समान खेलमा पहिलो हार खेपेको आर्मीको पनि तीन अङ्क छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । 

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।