• १३ साउन २०८१, आइतबार

समस्या बन्दै सडक किनाराका रुख

blog

पूर्वपश्चिम लोकमार्गमा दैत्य झैँ उभिएका युक्लिप्टसका रुख । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, साउन १३ गते । कुनै बेला राजमार्गको सौन्दर्यीकरण र वातावरण संरक्षणका नाममा सडक दायाँबायाँ लगाइएका रुख अहिले अनेकन् समस्याका कारण बनेका छन् । सरकारी खर्चको लहड र रहरमा वृक्षरोपण गरिएका अग्ला प्रजातिका युक्लिप्टस (भिक्स) का रुख हुर्कंदै गएपछि सडक आवागमनदेखि आसपासका बस्ती र सुरक्षा कार्यालयसमेत जोखिममा परेका छन् । विद्युत् प्रसारण लाइनको समानान्तर रहेका यी अग्ला रुख आगलागी र मृत्युका कारणसमेत बनेको घटनाक्रमले देखाएका छन् । 

पूर्वपश्चिम लोकमार्ग र बिपी राजमार्गको दायाँबायाँ दैत्य झैँ ठडिएका करिब ९० जति युक्लिप्टसको अजङ्गका रुखले बर्दीबास नगरपालिका–१ र ३ मा रहेका होटेल, पसल, आवास, नगरपालिका कार्यालय, इलाका प्रहरी र ट्राफिक बिटलाई समेत जोखिममा पारेका छन् । 

बिपी राजमार्गमा रहेको तौल पुल, ट्राफिक बिटका ट्राफिक प्रहरी र यातायातका कर्मचारी यिनै रुखका कारण अलिकति बढी हावा चल्यो भने ड्युटी छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने बाध्यता छ । तौलपुल बिटका ट्राफिक जवान राकेश रायका अनुसार हुरीबतास चल्दा त यी रुख काल झैँ हुन्छन् । उहाँले रुखको हाँगा झरेर ट्राफिक बिटको कुच्चिएको टिनको छाना देखाउँदै भन्नुभयो, “यस्तो अवस्थामा ज्यान जोगाउन पटक पटक कार्यस्थल छाडेर ओत लाग्नुको विकल्प हुँदैन ।” 

यी रुखका कारण इलाका प्रहरी कार्यालय बर्दीबास पनि जोखिममा छ । त्यहाँका करिब एक दर्जन युक्लिप्टसका रुख कटान नगरे कुनै पनि बेला अप्रिय घटना हुन सक्ने डिएसपी रेवतीरमण पोखरेलले बताउनुभयो । यी रुख विस्थापनको अभियान चलाउँदै आएको गौरीडाँडा सेवा समितिका अध्यक्ष राम लामाका अनुसार गएको पुस महिनामा यही रुखको हाँगा खसेर विद्युत् तार सर्ट हुँदा बर्दीबास–३ स्थित बिपी राजमार्ग आसपासका बस्तीनजिक आगलागी नै भयो । 

गएको तिहारतिर रातको समय बर्दीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल रुखको हाँगा चुँडिएर बिपी राजमार्गमा लत्रेको विद्युत् तारमा छोइएर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए । केही अगाडि सरस्वती पूजाका बेला पूर्वपश्चिम लोकमार्गको रातु पुलनजिकको युक्लिप्टसको रुखमा चढेर काट्दै गरेको हाँगाले ढल्केबर मलङ्गवा ३३ केभी लाइनमा सर्ट हुँदा स्थानीय जनता माविका एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो । 

होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमका अनुसार सडकछेउका यी रुखका कारण अनेकन् घटना भएका छन् । विद्युत् ट्रान्सफर्मर पड्किएका छन् । गुडिरहेका सवारीदेखि पैदल यात्रीसमेत जोखिममा परेको गौतमले घटनाक्रम सुनाउनुभयो । 

युक्लिप्टसका यी रुखले गर्दा सडक, यात्री, मानव बस्ती र सिन्धुलीसम्मका विद्युत् लाइन जोखिममा परे पनि यसको समाधान कसले गर्ने ? स्पष्ट हुन सकेको छैन । अध्यक्ष लामाका अनुसार गौरीबास सेवा समितिले गत वर्ष नै रुख विस्थापनका लागि स्थानीय जनताको हस्ताक्षर र वडा कार्यालयको सिफारिससहित नगरपालिकामा निवेदन दिँदा पनि सुनुवाइ भएको छैन । लामाले प्रश्न गर्नुभयो, “यही रुखका कारण ठुलो घटना भयो भने यसको जिम्मेवार को ?”

तौल पुल ट्राफिक बिटमा भएको घटनालाई लिएर रुख व्यवस्थापनको प्रव्रिmया अघि बढाउन आफूले पनि नगरपालिकामा अनुरोध गरेको बर्दीबास ट्राफिक प्रमुख रामभक्त भट्टराईले बताउनुभयो । वडाध्यक्षहरूका अनुसार नगरपालिकाको बैठकमा पटक पटक यसबारेमा चर्चा भएको छ । साउन १ गते नगरपालिकाको दैवी प्रकोप समितिको बैठकमा पनि यी रुखका विषयले प्रवेश पाएको थियो । नगरप्रमुख प्रह्लाद क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले अन्तरनिकाय सम्पर्क गरी राजमार्गछेउका युक्लिप्टसका रुख कटान गर्न प्रव्रिmया अघि बढाउने निर्णय गरेको थियो । रुख कटानको प्रसङ्ग आउनेबित्तिकै वडाले नगरलाई, नगरले वनलाई, वनले सडकलाई र सडकले बिपी राजमार्ग परियोजना धुलिखेल र सडक ठेकेदारलाई देखाउँदै पन्छिने गरेकाले समस्याले निकास पाउन सकेको छैन ।  

डिभिजन वन प्रमुख सन्तोष झाले सडक कार्यालयले जोखिमयुक्त रुख हटाइदिन भन्यो भने प्रव्रिmया मिलाएर काम गर्न सकिने बताउनुभयो । डिएफओ झाले भन्नुभयो, “वन नियमावलीको दफा १० अनुसार यस्ता रुख हटाउन सकिन्छ । यसमा सडक कार्यालय पनि अघि सर्नु पर्छ ।” यो समस्याबारे सडक डिभिजन कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर विजयकुमार झाले बिपी राजमार्ग बर्दीबास–सूर्यविनायक–धुलिखेल परियोजना अन्तर्गत भएकाले आफूले केही गर्न नसक्ने बताउनुभयो । 

पूर्वपश्चिम लोकमार्गको बर्दीबास खण्ड चार लेन स्तरोन्नतिको ठेक्का लागिसकेकाले डिभिजन सडक कार्यालयले ठुलो काम गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो सडक ठेक्का लागिसकेकाले अहिलेको अवस्थामा सानातिना खाल्टाखुल्टी मर्मत गर्नेबाहेक जोखिम भएको रुख हटाउन सक्दैनौँ ।”