काठमाडौँ, असार २३ गते । लोक सेवा आयोगले सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने भएको छ । आगामी असोज महिनामा पथप्रदर्शी ‘पाइलट’ परीक्षाका रूपमा तीन वटा सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ ।
आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले एक पटक पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेपछि प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित सङ्गठित संस्थाबाट हुने सम्बन्धित सेवा, समूह, समूहका पद, श्रेणी वा तहमा दरखास्त पेस गर्नका लागि सम्भाव्य उम्मेदवार भई खुला प्रतियोगितात्मक विषयगत लिखित परीक्षा दिन पाउने योग्य हुने बताउनुभयो ।
पथप्रदर्शी एकीकृत पूर्वयोग्यता परीक्षा अन्तर्गत नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कको अप्राविधिकतर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने छ । आयोगका उपसचिव एकनारायण शर्माका अनुसार तीन वटै संस्थाको पूर्वयोग्यता एकीकृत परीक्षाका लागि असोज पहिलो साता दरखास्त आह्वान गरिने छ ।
एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन सम्बन्धमा करिब तीन वर्षअघि सदस्य वीरबहादुर राईको संयोजनमा आयोगले अध्ययन गरेको थियो । सो अध्ययन कार्यदलको सिफारिसका आधारमा असार १९ गतेको बैठकले एकीकृत परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आयोगका उपसचिव शर्माले जानकारी दिनुभयो ।
आयोगले साउन पहिलो साता वार्षिक कार्यतालिका प्रकाशन गर्ने छ । कार्यतालिकामा यस वर्षका लागि तीन वटा सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित हुने आयोगका प्रवक्ता एवं सहसचिव होमेगार्इंले बताउनुभयो ।
लोक सेवा आयोगको सहमति, स्वीकृतिमा हाल ७४ वटा सङ्गठित संस्थाले पदपूर्ति गर्दै आएका छन् । ७४ वटा संस्थामध्ये समान प्रकृतिका संस्थालाई नौ वटा ‘क्लस्टर’ मा विभाजन गरिएको छ । आयोगका अनुसार एउटै समूह ‘क्लस्टर’ मा रहेका सबै सङ्गठित संस्थाको दोस्रो चरणको परीक्षामा सम्भाव्य उम्मेदवार हुन पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ ।
लोक सेवा आयोग (पहिलो संशोधन) विनियमावली, २०८२ को नियम २३ (क) ले आयोगले सङ्गठित संस्थाका कुनै सेवा, समूह वा उपसमूह र पद, श्रेणी वा तह तोकेर वा पद, श्रेणी वा तह मात्र तोकेर सबै सङ्गठित संस्थाका लागि लागु हुने गरी पूर्वयोग्यता परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ । आयोगले सो परीक्षाका लागि पाठ्यक्रम स्वीकृत गरिसकेको छ ।
आयोगले सबै सङ्गठित संस्थाको सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि पूर्वयोग्यता पाठ्यक्रम गत जेठ २७ गते स्वीकृत गरी सार्वजनिक गर्यो ।
नियमावलीबमोजिम आयोगले पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई प्रमाणपत्र उपलब्ध गराउने छ । आयोगको प्रमाणपत्रका आधारमा तीन वटै सङ्गठित संस्थाले सो आर्थिक वर्षभित्र आह्वान गर्ने अप्राविधिकतर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको विषयगत परीक्षा दिन योग्य हुने छन् ।
पूर्वयोग्यता परीक्षामा सहभागी नहुने वा उत्तीर्ण नहुने उम्मेदवारले सो पदका लागि सम्बन्धित सङ्गठित संस्थाले खुला गरेको पूर्वयोग्यता परीक्षापछिको विषयगत विज्ञापनमा उम्मेदवार हुन पाउने छैनन् । आयोगका अनुसार पूर्वयोग्यता परीक्षा आयोगको १४ वटै कार्यालयले गर्ने छ । उम्मेदवारले आफूले चयन गरेको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुने पाउने छन् ।
सङ्गठित संस्थाको एकै पटक पूर्वयोग्यता परीक्षा हुने भएपछि उम्मेदवारले विभिन्न स्थानमा गएर परीक्षामा सहभागी हुनुपर्ने झन्झटबाट मुक्त हुने छन् । यसले समय र खर्चको व्यवस्थापनसँगै उम्मेदवारले भविष्यको योजना बनाउनसमेत सहज हुने अपेक्षा गरिएको छ । आगामी दिनमा एउटै तह/पदका लागि हुने समान प्रकृतिका सङ्गठित संस्थाको अन्य विज्ञापनमा समेत पूर्वयोग्यता परीक्षा लिने आयोगको तयारी छ ।