• २२ मङ्सिर २०८२, सोमबार

क्षतिग्रस्त संंरचनाको अर्थमन्त्री खनालद्वारा निरीक्षण

blog

क्षति भएको संरचनाको निरीक्षण गर्नुहुँदै अर्थमन्त्री रामेश्वर खनाल ।

अविनाश चौधरी

धनगढी, मङ्सिर २२ गते । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ । 

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आज धनगढी आउनुभएका अर्थमन्त्रीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्नुभएको हो । त्यसक्रममा उहाँले तोडफोड गर्नेलाई कानुनी कारबाही हुने बताउनुभएको छ । 

उहाँले उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो । अर्थमन्त्री खनालले पुनःनिर्माण तथा व्यवस्थापनका विषयमा संघीय सरकारको तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । 

निरीक्षणपछि अर्थमन्त्री खनाल र मुख्यमन्त्री कमलबहादुर शाहबिच भेटवार्ता समेत भएको छ । त्यस क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिमका किसानलाई राहत हुनेगरी धान खरिद कोटा बढाउन आग्रह गर्नुभयो । 

उहाँले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३५ हजार क्विन्टल धान खरिदको अनुमति पाएकोमा ३८ हजार क्विन्टल धान खरिद गरेको बताउनुभयो । कोटा कम हुँदा धेरै किसानले अझै पनि धान बेच्न नपाएको मुख्यमन्त्रीको भनाइ थियो ।