• २२ मङ्सिर २०८२, सोमबार

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको टोलीबिच छलफल

blog

प्रधानमन्त्री सुशीला कार्की नागरिक बचाउ अभियानको टोलीसँग छलफल गर्नुहुँदै ।

काठमाडौँ, मङ्सिर २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।

दुर्गा प्रसाईँको नेतृत्वमा गएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि हुनुहुन्थ्यो। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको थियो । 

अभियानका नेता प्रसाईँले सम्माननीय प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गर्नुभयो र भन्नुभयो, ‘‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो । दुर्गाको रुप धारण गरेर काम गर्नुहोस् । तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ ।’’

प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिनुभयो । शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उहाँले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गर्नुभयो । 

‘‘यसअघिका सरकारहरु हाम्रा माग सुन्नै चाहेनन् । यही कारण दुर्घटना भयो। कमसे कम यो सरकार सुन्न तयार भयो । प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ । यसका लागि माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’’ प्रसाईँले आफ्ना माग पूरा भए देशभरि खुसियाली छाउने र कोही पनि सडकमा आउनु नपर्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रणकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताउनुभयो । प्रसाईँले उठाउनुभएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उहाँको भनाइ थियो ।

तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने उहाँको धारणा थियो । प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा पनि छलफल गर्दै जाने समझदारी भएको छ।