भवानीदत्त भट्ट
कञ्चनपुर, वैशाख २ गते । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद समिति कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनीत गरेको छ ।
बुधबार परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले सिंहलाई मनोनयन पत्र प्रदान गर्नुभएको हो । प्रदेश खेलकुद नियमावली २०७७ को नियम ५ (क)मा व्यवस्था भए बमोजिम परिषद्को (आज) वैशाख २ गतेको निर्णय अनुसार जिल्ला खेलकुद समितिको अध्यक्षमा सिंहलाई मनोनयन गरिएको परिषद्का सदस्य सचिव खड्काले बताउनुभयो ।
साथै, परिषद्ले प्रचलित ऐन, नियम , कानुन र प्रदेश खेलकुद परिषद्को अधीनमा रही तोकिएको जिम्मेवारी सम्पादन गर्न सिंहको महत्त्वपूर्ण योगदान रहने छ भन्ने अपेक्षा गरेको छ ।
गत चैत्र २४ गते निर्वतमान अध्यक्ष कुबेर खड्काको विदाई गरिएको थियो । परिषद्ले सिंहलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा जिम्मेवारी प्रदान गरेको हो ।
मनोनयन पत्र बुझ्दै अध्यक्ष सिंहले जिल्लालाई प्रदेशकै उत्कृष्ट खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, खेलकुदलाई अनुशासित, प्रतिस्पर्धात्मक र परिणाममुखी बनाउन तर्फ सधैँ केन्द्रित रहने उहाँले बताउनुभयो ।