माले, वैशाख २ गते । स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिमण्डल पुनर्गठन गर्दै मन्त्रीहरूको सङ्ख्या घटाउनुभएको छ । सरकारका अनुसार यो निर्णय राजनीतिक दबाब र हालैको निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
राष्ट्रपति मुइजुले २० सदस्यीय मन्त्रिमण्डललाई घटाएर १५ सदस्यीय बनाउँदै नयाँ अनुहारलाई समावेश गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री नियुक्त गरिएको छ । यसै क्रममा विदेशमन्त्री अब्दुल्ला खलीललाई हटाएर लन्डनस्थित माल्दिभ्सका उच्चायुक्त इरुथिसाम आदमलाई नयाँ विदेशमन्त्री बनाइएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद् पुनर्गठनको मुख्य उद्देश्य सरकारलाई अझ प्रभावकारी र चुस्त बनाउनु रहेको छ । तर यो कदम स्थानीय चुनावमा सत्तारूढ पिपुल्स नेसनल कङ्ग्रेसले भोगेको अपमानजनक पराजयपछि आएको हो । यसअघि रक्षामन्त्री मोहम्मद घसान मउमुनसहित अन्य नौ मन्त्रीहरूले राजीनामा दिएका थिए, जसले राष्ट्रपति मुइजुलाई सरकार पुनर्गठनका लागि थप बाटो खोलिदिएको बताइएको छ ।
रक्षामन्त्रीको स्थानमा नयाँ नियुक्ति भने हालसम्म घोषणा गरिएको छैन । करिब ८० लाख अमेरिकी डलर बचत हुने अनुमान गरिएको एक विवादास्पद सरकारी योजनालाई अस्वीकार गरिएको केही दिनपछि यो राजनीतिक परिवर्तन भएको हो । सो योजनाअनुसार राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने प्रस्ताव गरिएको थियो ।
त्यसैगरी, जनमतसङ्ग्रहसँगै सम्पन्न स्थानीय परिषद् निर्वाचनमा पनि राष्ट्रपति मुइजुको पार्टी पिपुल्स नेसनल कङ्ग्रेसले ठुलो धक्का बेहोरेको थियो । विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी मालेसहित दोस्रो ठुलो निर्वाचन क्षेत्र अड्डुका प्रमुख परिषद्मा विजय हासिल गरेको छ । करिब एक हजार १९२ कोरल टापुमा फैलिएको सानो टापु राष्ट्र माल्दिभ्स भूराजनीतिक दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रका रूपमा रहेको छ ।
पूर्व–पश्चिम प्रमुख समुद्री मार्गमा अवस्थित भएकाले यो देशमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा पनि तीव्र छ । लगभग तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्समा भारत र चीनजस्ता क्षेत्रीय तथा वैश्विक शक्तिले प्रभाव विस्तारका लागि प्रतिस्पर्धा गर्दै आएका छन् । यस सन्दर्भमा पछिल्लो राजनीतिक अस्थिरता र मन्त्रिमण्डल पुनर्गठनलाई रणनीतिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ । रासस/एएफपी