ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २ गते । सरकारले अघि सारेको शासकीय सुधारको कार्ययोजना अन्तर्गत म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्ने कार्यको औपचारिक सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत बुधबारदेखि यो नवीन सेवाको प्रारम्भ गरेको हो ।
बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोट निवासी सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गर्नुभयो । कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको 'शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची' को बुँदा नम्बर २७ मा उल्लेखित 'सरकारी सेवा घरमै उपलब्ध गराउने' प्रतिबद्धता बमोजिम यो सेवा सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, “सरकारको प्रतिबद्धता अनुसार आजदेखि बेनी नगरपालिकाभित्र निःशुल्क रूपमा यो सेवा सुरु गरेका छौँ । आगामी दिनमा जिल्लाका अन्य पालिकामा पनि यसलाई विस्तार गरिनेछ ।”
यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ । पहिलो दिन ८ जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक प्रमुख थापाले जानकारी दिनुभयो ।
घरमै राहदानी प्राप्त गरेपछि स्थानीय सरस्वती घिमिरे थापाले खुसी व्यक्त गर्दै भन्नुभयो, “पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो, सरकारले घरमै ल्याइदिने व्यवस्था गर्दा हामी सर्वसाधारणलाई ठुलो राहत मिलेको छ ।” यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।