• २३ मङ्सिर २०८२, मङ्गलबार

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

blog

भालुको आक्रमणबाट घाइते भएकाहरु ।

गंगा कुमारी मिजार 

रसुवा, मंसिर २२ गते । रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर थिङलाई जङ्गली भालुले आक्रमण गरेको थियो ।

लाङटाट राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठका अनुसार थिङ जिवजिवेबाट खाल्चेततर्फ जाँदैगर्दा जङ्गली भालुले आक्रमण गरेको थियो । दुवै जनाको शरीरभरि चोटपटक लागेको श्रेष्ठले जानकारी दिनुभयो ।

गजुरेलको घाँटी, टाउको र कानमा गम्भीर चोट लागेको छ भने थिङको शरीरभरि चोटपटक रहेको छ । दुवैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्थानीयवासीले वन्यजन्तुको गतिविधि बढ्दै गएपछि वडामा जोखिम बढिरहेको बताउँदै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।