• ४ मंसिर २०८२, बिहिबार

नयाँ दललाई हस्ताक्षर पुर्‍याउनै हम्मे

blog

प्रस्तावित दलले बुुझाएको नागरिकता र हस्ताक्षर सत्यापन गर्ने सफ्टवेयर आयोगमा छैन । एउटा दलका सदस्य रहेका व्यक्ति अर्को नयाँ दलमा हस्ताक्षर गरे वा सदस्य हुने देखियो । 

काठमाडौँ, मङ्सिर ४ गते ।  निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका दललाई पाँच सय जनाको हस्ताक्षर पुर्‍याउन हम्मे हम्मे परेको छ । दल दर्ताका लागि निवेदन दिएका अधिकांश प्रस्तावित दलले सो प्रक्रिया पूरा नगर्दा दर्ताको प्रमाणपत्र पाएका छैनन् । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दल दर्ताका लागि कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजका नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरेको छ । सो प्रक्रिया पूरा नगर्दा आयोगमा करिब २९ दलका दर्ता प्रमाणपत्र रोकिएका छन् । 

निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङले पाँच सय व्यक्तिको हस्ताक्षर प्रमाणित गर्न नसक्ने व्यक्ति वा समूहले कसरी दल सञ्चालन गर्छन् ? प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “सामूहिक प्रयासबाट देश र जनताको हितमा सामूहिक उद्देश्य प्राप्त गर्न दलमा व्यक्ति आबद्ध हुने हो । साधारण सभा र सम्मेलन गरेर दल दर्ताको अवधारणासहित प्रक्रियामा जाने हो । त्यत्ति पनि गर्न नसक्नेले दल कसरी सञ्चालन गर्न सक्छ ?”

दर्ता प्रक्रिया रोकिएका २९ मध्ये कतिपय दलले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सनाखतसमेत गराउन सकेका छैनन् । प्रस्तावित दलका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्ने व्यवस्था छ । बुझाइएका पाँच सय हस्ताक्षरकर्ताले सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नु पर्छ ।

आयोगका अनुसार मङ्सिर ३ गतेसम्म राष्ट्र निर्माण दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले दर्ताको प्रमाणपत्र पाएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गतेसम्म दल दर्ताका लागि निवेदन दिएका दलले मङ्सिर १० गतेसम्म नै सबै प्रक्रिया पूरा गरेर प्रमाणपत्र लिनुपर्ने छ । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार उज्यालो नेपाल पार्टीले दल दर्ताका लागि गत साउन २७ गते नै निवेदन दियो । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सनाखत गराइसकेको सो दलले पाँच सय जना नेपाली मतदाताको प्रतिबद्धतापत्र र नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षरसम्बन्धी प्रक्रिया पूरा गरेको छैन । सो दलले हालसम्म ३५९ जनाको हस्ताक्षरको सनाखत गराएको छ । 

स्वाभिमान पार्टीले गत कात्तिक ३० गते दल दर्ताको निवेदन दर्ता गरायो । सो दलका संयोजक सत्यवानकुमार सिंहले प्रतिबद्धतापत्र र हस्ताक्षर बुझाउन समस्या नरहेको बताउनुभयो तर गएको चार दिनमा सो दलले चार सय जनाको प्रतिबद्धतापत्र मात्रै बुझाउन सकेको हो । 

कात्तिक २५ गते दल दर्ताको निवेदन दिएको पिपुल फस्र्ट पार्टीले बुधबार मात्रै सो प्रक्रिया पूरा गर्‍यो । केन्द्रीय समितिको सनाखत लगभग टुङ्ग्याइसकेको सो दल दर्ताको अन्तिम चरणमा छ । 

बाँकीको २१ दलको जिल्लामा सनाखतको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे आयोगमा जानकारी आएको छैन । पूर्वआयुक्त गुरुङले अझ पहिला पाँच हजारभन्दा बढी व्यक्तिको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था रहेकोमा दलहरूले काल्पनिक नाम राख्न थालेपछि प्रमाणित गर्न असहज भएकोले सो सङ्ख्या घटाइएको सुनाउनुभयो । प्रस्तावित दलले बुझाएको नागरिकता र हस्ताक्षर सत्यापन गर्ने सफ्टवेयर आयोगमा छैन । त्यसो हुँदा अर्को दलको सदस्य नभएको हुनुपर्ने दलसम्बन्धी नियमावलीको व्यवस्था लागु भए/नभएको यकिन नभएको आयोग स्रोतले जनायो तर अर्को दलको सदस्य नरहेको हस्ताक्षरकर्ताले स्वघोषणा गर्नु पर्छ ।