• १३ चैत २०८२, शुक्रबार

सिंहदरबारमै फर्कियो संसद्

blog

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूलाई सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो । 

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले २७३ जना सदस्यले बिहीबार दिउँसो २ बजे निर्धारित समयमा नै शपथग्रहण गरेको तथा सो समयमा शपथ लिन छुटेका नवनिर्वाचित सदस्य रविन महतोले सभाका ज्येष्ठ सदस्यको कार्यकक्षमा शपथग्रहण गरेको जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ गत फागुन २१ गते सम्पन्न भएको थियो । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो । 

निर्वाचन आयोगले गत फागुन ५ गते राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझायो । सोही दिन सङ्घीय संसद् सचिवालयमा निर्वाचन परिणामबारे जानकारी गराएपछि सचिवालयले शपथका लागि फागुन १२ गतेको समय तय ग¥यो । सोबमोजिम प्रतिनिधि सभाका २७४ सदस्यले शपथग्रहण गर्नुभयो । यसअघि ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य केसीले बुधबार राष्ट्रपतिबाट शपथ लिनुभयो । 

संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ । राष्ट्रपतिले शाहलाई प्रधानमन्त्री नियुक्त गरेपछि उहाँले प्रधानमन्त्री पदको शपथ लिनुहुने छ । शपथग्रहणपछि बस्ने मन्त्रीपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने छ । राष्ट्रपतिले सङ्घीय संसद्को बैठक बस्ने मिति, समय र स्थानसहित अधिवेशन आह्वान गर्नुहुने छ । 

संसद् भवन सिंहदरबार परिसर फर्किएको छ । संविधान सभाको निर्वाचनपछि २०६५ जेठदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर प्रवेश गरेको संसद् त्यसयता पहिलो पटक सिंहदरबार नै फर्केको छ । सिंहदरबारस्थित पुरानो संसद् भवन साँघुरो भएपछि संविधान सभाको निर्वाचनपछि २०६५ मा ६०१ सदस्य अट्ने गरी संसद् भवनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रोजियो । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्मित भवन पूर्णरूपमा तयार नभए पनि संसद् बैठक निर्माणाधीन आफ्नै भवनमा बस्नयोग्य बनेको बताउनुभयो । उहाँले निर्माणाधीन भवनमै संसद्को बैठकसमेत बस्ने जानकारी दिनुभयो । प्रवक्ता गिरीले भन्नुभयो, “शपथग्रहणमै प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भयो । अधिवेशन आह्वान भएपछि सुरक्षालगायत अन्य व्यवस्थासहित नयाँ भवनमै संसद् बैठक बस्ने छ ।” करिब १५३ रोपनी क्षेत्रफलमा सिंहदरबारको उत्तरपट्टि निर्माणाधीन संसद् भवनको निर्माण कार्यले पूर्णता पाउन अझै केही महिना लाग्ने छ । 

मातृभाषामा शपथ लिने बढे

प्रतिनिधि सभा २०८२ मा नेपालीबाहेकको अन्य राष्ट्रिय भाषामा सदस्य पदको शपथग्रहण गर्नेको सङ्ख्या विगतभन्दा उल्लेख्य रूपमा बढेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका ६६ जना सदस्यले १८ वटा अन्य मातृभाषामा शपथ लिनुभयो । सबैभन्दा बढी मैथिलीमा १९ जना सदस्यले शपथ लिनुभयो । नेपाल भाषामा नौ र थारू भाषामा छ जना सदस्यले शपथग्रहण गर्नुभयो ।  

भोजपुरी र बज्जिकामा चार/चार, डोटेलीमा तीन जनाले शपथ लिनुभयो । विगतमा हिन्दीमा समेत शपथ लिइएको उदाहरण रहे पनि यस पटक हिन्दीमा कुनै सदस्यले शपथग्रहण गर्नुभएन । सचिवालयका अनुसार संस्कृतमा दुई जना सदस्यले शपथग्रहण गर्नुभयो । केही सदस्यले बझाङ्गी, मगर, खाम्पाङ, अवधी, तामाङ, छन्त्याल, चाम्लिङ, रानाथारू, मगही, लिम्बू, कठरिया थारूलगायत भाषामा शपथ लिनुभएको छ । 

नेपालको संविधानमा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा रहेको उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा १२४ भाषा बोलिन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा मातृभाषामा शपथ लिने क्रम बढेको छ । 

यसअघि प्रतिनिधि सभा २०७९ मा नेपालीबाहेक १४ अन्य भाषामा ३२ जना सदस्यले शपथग्रहण गर्नुभएको थियो । प्रतिनिधि सभा २०७४ बाट निर्वाचित ४३ जना सदस्यले मातृभाषामा शपथ लिनुभयो । मैथिलीमा सबैभन्दा बढी १८ जनाले शपथ लिनुभयो । सो वर्ष हिन्दीमा छ जना, नेवारी र नेपाल भाषामा १/१ जनाले शपथ लिनुभएको थियो । सदस्यहरूले आआफ्नो संस्कृति झल्किने पहिरनसहित शपथग्रहण गर्न सङ्घीय संसद् भवन पुग्नुभएको थियो ।