काठमाडौँ, चैत १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा–५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहले जननिर्वाचित सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले शाहलाई आसन हस्तान्तरण गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभयो । संविधानको सो धारामा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रीपरिषद् गठन हुने उल्लेख छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहका बिच राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । शाह पद तथा गोपनीयताको शपथ लिन बिहान ११ बजेर ३० मिनेटमा शीतल निवास पुग्नुभएको थियो । उहाँले १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्नुभयो । शपथ समारोहस्थलमा सात वटा शङ्खनादसहित १०८ जना वटुकले स्वस्ति वाचन र बौद्ध भिक्षुद्वारा अष्टमङ्गल पाठ गरियो ।
देवीदेवतालाई जागृत तुल्याएर पूजा सङ्कल्प ग्रहण गरी शुभ प्रतिफल पाउने विश्वासका साथ स्वस्ति वाचन र अष्टमङ्गल पाठ गरिन्छ । शपथ समारोहस्थलमा नेपाल वेद विद्यालय संस्कृत माध्यमिक विद्यालय पशुपति क्षेत्रबाट स्वस्ति वाचनका लागि वटुकलाई ल्याइएको थियो ।
शपथका लागि राष्ट्रपतिको कार्यालयमा तयार गरिएको मञ्चमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत उपस्थित हुनुहुन्थ्यो । शपथपछि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, प्रथम उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । त्यसै गरी कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका कर्मचारीले बधाई तथा शुभकामना दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख अनुसार प्रधानमन्त्री शाह नेपालको ४३ औँ प्रधानमन्त्री हुनुहुन्छ । कार्यालयको अभिलेखमा भने प्रधानमन्त्रीले पदभार समालेको एउटै मिति दोहोरिएका छन् ।

मन्त्रीपरिषद् कार्यविभाजन सङ्ख्या घटाइयो
कार्यविभाजन अनुसार विगतको भन्दा मन्त्रीको सङ्ख्या घटाइएको छ । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफ्नै मातहत राख्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत उहाँकै कार्यविभाजनमा परेको छ ।
सहरी विकास मन्त्रालय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीकै जिम्मेवारी अन्तर्गत परेको छ । शिक्षा, विज्ञान र प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी एकै जना मन्त्री अन्तर्गत राखिएको छ । खानेपानी तथा सरसफाइ छुट्टै मन्त्रालय रहेकोमा खानेपानीलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीकै जिम्मेवारीमा कार्यविभाजन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै मातहतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
समावेशी मन्त्रीपरिषद्
प्रधानमन्त्रीको शपथग्रहणलगत्तै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (९) बमोजिम मन्त्रीपरिषद्का सदस्यहरूको कार्यविभाजन गर्नुभयो । त्यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ८० बमोजिम मन्त्रीलाई शपथग्रहण गराउनुभयो । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रीपरिषद् गठन गर्ने धारा ७६ (९) मा उल्लेख छ ।
राष्ट्रपति पौडेलले १५ सदस्यीय मन्त्रीपरिषद् गठनसहित कार्यविभाजन गर्नुभयो । मन्त्रीपरिषद्मा पाँच महिला सदस्य हुनुहुन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी अति सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्नुहुन्छ ।
मन्त्री नियुक्त भएका १५ जनामध्ये दुई जना मात्रै पुराना अनुहार हुन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका शिशिर खनालले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँ २०७९ माघमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सो भूमिकामा हुनुहुन्थ्यो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका विराजभक्त श्रेष्ठले यसअघि युवा तथा खेलकुदमन्त्रीको भूमिका निर्वाह गर्नुभएको छ । कांग्रेस, एमाले र रास्वपाको गठबन्धन हुँदा उहाँ सो मन्त्रीको भूमिकामा हुनुहुन्थ्यो । मन्त्रीपरिषद्का सात सदस्य ४० वर्षमुनिका हुनुहुन्छ ।
कान्छो उमेरका प्रधानमन्त्री
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुँदा ३५ वर्षका हुनुहुन्छ । आगामी वैशाख १४ गते उहाँ ३६ वर्षको हुनुहुने छ । उहाँलाई प्रधानमन्त्रीको आसन हस्तान्तरण गर्ने निवर्तमान प्रधानमन्त्री सुशीला कार्की ७३ वर्षको हुनुहुन्छ । आफूभन्दा करिब दोब्बर उमेरका प्रधानमन्त्रीबाट बालेन्द्र शाहले प्रधानमन्त्रीको आसन प्राप्त गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको उहाँ १८ औँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि उहाँ १० औँ प्रधानमन्त्री हुनुहुन्छ ।