• १२ चैत २०८२, बिहिबार

शपथ गराएका ज्येष्ठ सदस्य

blog

काठमाडौँ, चैत १२ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको सदस्यको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई बुधबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबिच शपथ गराउनुभएको हो । 

सङ्घीय संसद् सचिवालयका अनुसार ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएका केसी ७८ वर्षका हुनुहुन्छ । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य भने संसदीय इतिहासको तेस्रो सबैभन्दा जेठो सदस्य हुनुहुन्छ । प्रतिनिधि सभामा निर्वाचित बहुसङ्ख्यक सदस्य भने ५० वर्षमुनिकै हुनुहुन्छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ । साथै सोही दफामा संविधानको धारा ९१ (५) बमोजिमको सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने उल्लेख छ ।

संविधानको धारा ९१ (५) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ । नेपालको संविधान २०७२ ले ज्येष्ठ सदस्यको परिकल्पना गरे अनुसार २०७४ को आमनिर्वाचनयता ज्येष्ठ सदस्यले निर्वाचित अन्य सदस्यलाई शपथग्रहण गराउँदै आएका छन् । 

नेपालमा पहिलो पटक २०१५ सालमा संसदीय निर्वाचन भएको हो । सो निर्वाचनपछि पनि अर्को कुनै सदस्यले शपथग्रहण गर्ने र त्यसरी शपथ गरेकाले निर्वाचित सदस्यलाई शपथग्रहण गराउने परम्परा रहेको छ । २०४८ यता ज्येष्ठ सदस्यले राष्ट्रप्रमुखबाट शपथग्रहण गर्ने परम्परा छ । 


सङ्घीय संसद् सचिवालयको अभिलेख अनुसार २०१५ को आमनिर्वाचनपछि सभामुखको निर्वाचनअघि सभाको अध्यक्षता गर्न गिरिप्रसाद बुढाथोकीले शपथग्रहण गर्नुभयो । उहाँलाई प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन राजाले सभाको कार्यकारी अध्यक्षका रूपमा मनोनीत गर्नुभयो । मनोनीतपछि बुढाथोकीले सभाका सचिव कुलशेखर शर्माबाट शपथग्रहण गर्नुभयो । उहाँले २०१६ असार १६ गते शपथ गरेपछि संसद्को दुई वटा बैठकको अध्यक्षता गर्ने अवसर पाउनुभयो  तर २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरेपछि नेपालले करिब ३१ वर्षपछि मात्रै दोस्रो संसदीय निर्वाचनमा होमिने अवसर पायो । सुनसरी–४ बाट निर्वाचित ७४ वर्षीय खलिल मियाँले ज्येष्ठ सदस्यका रूपमा तत्कालीन राजाबाट शपथग्रहण गर्नुभयो । उहाँले २०४८ असार ५ गते नारायणहिटीमा शपथग्रहण गर्नुभयो । 

२०५१ को मध्यावधि निर्वाचनपछि ओखलढुङ्गा–२ बाट निर्वाचित ७२ वर्षीय बलबहादुर राईले सोही वर्षको मङ्सिर २८ गते नारायणहिटीमा ज्येष्ठ सदस्यका रूपमा शपथग्रहण गर्नुभयो । २०५६ वैशाख ३० र जेठ ३ गते सम्पन्न निर्वाचनबाट गिरिजाप्रसाद कोइरालाले ज्येष्ठ सदस्यको हैसियतमा शपथग्रहण गर्नुभयो । उहाँले २०५६ असार ४ गते नारायणहिटीमा ज्येष्ठ सदस्यका रूपमा शपथग्रहण गर्नुभयो । असारकै ६ गते उहाँले प्रतिनिधि सभाका अन्य सदस्यलाई शपथग्रहण गराउनुभयो । २०५९ जेठ ८ गते प्रतिनिधि सभा विघटन भयो । जनआन्दोलन–२ को जगमा पुनस्र्थापित प्रतिनिधि सभाको अध्यक्षता

सुवास नेम्वाङले गर्नुभयो । २०५६ को आमनिर्वाचनबाट सभामुख निर्वाचित तारानाथ रानाभाटले पुनस्र्थापित प्रतिनिधि सभाको बैठक बस्नुभन्दा दुई दिनअगावै राजीनामा गरेपछि २०६३ वैशाख ३० गते सभामुखको निर्वाचन भयो । 

२०६४ चैत २८ गते संविधान सभाको निर्वाचन सम्पन्न हुँदा इलाम–२ बाट निर्वाचित सदस्य कुलबहादुर गुरुङले ज्येष्ठ सदस्यका रूपमा शपथग्रहण गर्नुभयो । पछि उहाँ राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारसमेत हुनुभयो । 

नेपालको संविधानको धारा ८३ को उपधारा (२) ले संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष व्यवस्थापिका संसद्का क्रमशः सभामुख र उपसभामुख हुने व्यवस्था ग¥यो । सो प्रावधानबमोजिम २०७० माघ १२ देखि फागुन २ गतेसम्मको बैठकको अध्यक्षता संविधान सभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले गर्नुभयो । उहाँ करिब ८६ वर्षको उमेरमा ज्येष्ठ सदस्यको हैसियत प्राप्त गर्नुभयो । संसदीय इतिहासको सबैभन्दा जेठो सदस्यका रूपमा ज्येष्ठ सदस्यको हैसियत प्राप्त गर्नुभयो । 

२०७२ मा नेपालको संविधान जारी भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित सदस्य महन्थ ठाकुरले २०७४ फागुन २० गते ज्येष्ठ सदस्यको शपथग्रहण गर्नुभयो । सो निर्वाचन २०७४ मङ्सिर १० र २१ गते गरी दुई चरणमा भयो । राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएका उहाँले ज्येष्ठ सदस्यको हैसियतमा तीन वटा बैठकको अध्यक्षता गर्नुभयो । 

२०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित सदस्य पशुपतिशमशेर जबराले ज्येष्ठ सदस्यको हैसियत पाउनुभयो । उहाँले राष्ट्रपतिसमक्ष २०७९ पुस ५ गते शपथग्रहण गर्नुभयो । पुस ७ गते उहाँले प्रतिनिधि सभाका अन्य सदस्यलाई शपथग्रहण गराउनुभयो ।