प्रेमराज सिम्खडा
कालीकोट, चैत २१ गते । कालीकोटको सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाको २० परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो ।
केही परीक्षा केन्द्रमा बिषयगत शिक्षक घर बिदामा भएकाले परीक्षणको काम केही ढिलो भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटको प्रमुख हस्तप्रसाद चौलागाईले २० मध्ये १६ परीक्षा केन्द्रमा उसै दिनबाट उत्तरपुस्तिका परीक्षण सुरु भए पनि चार केन्द्रमा भने आज शनिवारबाट सुरु भएको बताउनुभयो ।
अब हामी सबै केन्द्रमा उत्तरपुस्तिका परीक्षणको काम सुरु गर्न सफल भएको र परीक्षा बोर्डले भनेकै दिनमा नतिजा प्रकाशनका लागि तयार रहेको प्रमुख चौलागाईले बताउनुभयो ।
कालीकोट जिल्लामा यस बर्ष तीन हजार ७५९ जना बिद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । एक हजार ८४४ जना छात्र र एक हजार ९१५ जना छात्रा गरी जम्मा तीन हजार ७५९ जना बिद्यार्थीले परीक्षा दिइरहेका छन् ।
यस बर्षको परीक्षामा छात्रभन्दा छात्रा बढी छन् । छात्रभन्दा ७१ जना छात्रा बढी रहेको शिक्षा बिकास तथा समन्वय इकाई कालीकोटले जनाएको छ । गत बर्ष चार हजार १३१ जनाले परीक्षा दिएका थिए । यस बर्ष ग्रेड बृद्धिका लागि ६७९ जना परीक्षामा सहभागी छन् ।
बिद्यार्थी घट्नुमा जन्मान्तर हुनु, जिल्ला बाहिर पढ्न जानु लगायतका कारण रहेको इकाई प्रमुख चौलागाईले बताउनुभयो ।