• २३ असार २०८२, सोमबार

सहकारीको मूल्य र मान्यता

blog

केही सहकारी संस्थाका सञ्चालकले सहकारी संस्थाको रकम अपचलन गर्दा नेपाली जनबोलीमा अहिले सबैभन्दा बढी प्रयोगमा आएको शब्द सहकारी भएको छ । राजनीतिक वृत्तमा होस् वा सामाजिक क्षेत्रमा, त्यो पनि बदनाम शब्दका रूपमा । आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ मा कपडा कारखानामा काम गर्ने २८ जना मजदुरले बेलायतको रोचडेल सहरमा एक/एक पाउन्ड रकम जम्मा गरेर उपभोक्ता पसल खोली सहकारी संस्थाको स्थापना गरेर मिल मालिक एवं पुँजीपतिको शोषणविरुद्धको कदम चाल्नु नै सहकारीको पहिलो कदम थियो । 

नेपालमा बखान सहकारीको नाममा २०१३ साल चैत २० मा पहिलो सहकारीका रूपमा स्थापना भएको सहकारीको मूल उद्देश्य चितवनमा रहेका कृषक वर्गको आर्थिक स्तर, सामाजिक न्याय र चेतनामूलक समाज निर्माण गरी देशलाई समृद्धितर्फ लैजानु थियो । नेपालमा बामे सर्दै गरेको सहकारीको उल्लेखनीय विकास भने २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा सहकारी ऐन र सहकारी नियमावली, २०४९ जारी भएपछि देशभरि नै सहकारी संस्था स्थापना र प्रवर्धन भएको पाइन्छ । 

सामान्यतयाः सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा समान कार्य गर्नुलाई बुझिन्छ । समान सामाजिक, आर्थिक र संस्कृतिक समूहमा रहेका र कुनै निश्चित भूगोलमा रही पारस्परिक सद्भाव, विश्वास र भरोसामा रही आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामूहिक प्रयास नै सहकारी हो । यसको मूलभूत उद्देश्य सेयर सदस्यको आर्थिक र सामाजिक उत्थान गरी उनीहरूको जीवनस्तर उकास्नु हो । बेलायत, जर्मनी, अमेरिका, भारत, चीन, इटाली, बङ्गलादेश, घाना जस्ता विकसित र विकासोन्मुख देशमा सहकारी संस्था स्थापना र सञ्चालन भएको पाइन्छ । संसारभर अहिले दुई अर्बभन्दा बढी सेयर सदस्य रहेका झन्डै ३० लाख हाराहारीको सङ्ख्यामा सहकारी संस्था सञ्चालनमा छन् । संसारका जुन कुनै मुलुकमा रहेका नागरिकलाई पनि सहकारी संस्थाप्रति चासो र भरोसा छ । यसै संस्थाको माध्यमबाट सदस्यको सामाजिक र संस्कृतिक रूपमा सद्भाव अभिवृद्धि गर्न र आर्थिक रूपमा जीवनस्तर उकास्न टेवा पुर्‍याउने अपेक्षा साथ सहकारीमा सहभागिता भएको पाइन्छ । 

समुदायको दिगो आर्थिक विकासका लागि तथा स्थानीयस्तरको सामाजिक, संस्कृतिक र वातावरण संरक्षणका लागि सहकारी संस्थाले ठुलो योगदान दिएको अनुभव अफ्रिकी मुलुक घानामा सन् १९९३ मा स्थापना गरिएको ‘कुप्पा कोको फार्मर्स युनियन’ नामक सहकारी संस्थाले गरेको उपलब्धिबाट नै बुझ्न सकिन्छ । उक्त सहकारीले सन् १९९७ मा बहुमत सदस्यले आफ्नै चकलेट कम्पनी खोल्ने निर्णय गरेबमोजिम बेलायतमा डिभाइन चकलेट कम्पनी खोली मनग्गे आम्दानी गर्न सफल भयो । अहिले उक्त सहकारीमा एक लाख सदस्य छन् । सहकारीमा करिब ३२ प्रतिशत महिला सदस्य रहेको र बहुमत सदस्यमा शिक्षाको कमी भएको उक्त सहकारीका सञ्चालक सदस्य केन्द्रित रहनु, सदस्यबिच अनुभव आदानप्रदान गर्नु तथा सदस्यको विश्वासमा रही आर्थिक क्रियाकलाप सञ्चालन गर्नुले कुप्पा कोको सहकारीले सहकारीको क्षेत्रमा एउटा छुट्टै ब्रान्ड बनाएको छ । यही सहकारीको दिगो लगानी र प्रतिफलका कारण घानाको कोका निर्यातमा मुलुकलाई नै अब्बल बनाएको छ । 

आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क सर्वेक्षण अनुसार नेपालमा सहकारी संस्थाको सङ्ख्या ३१ हजार ४५० रहेको र यसमा आबद्ध सेयर सदस्य सङ्ख्या ७३ लाख ७३ हजार ५२८ जना रहेको छ । नेपाल सरकारले तीनखम्बे अर्थनीतिमध्ये सहकारीलाई एक खम्बामा राखेको छ । केही सहकारी संस्थाको लगानी सहकारीको सिद्धान्त र सेयर सदस्यको मर्म विपरीत सवारीसाधन खरिद गर्ने, जग्गा खरिद, सेयर खरिद तथा सहकारीका सञ्चालकले आफ्नो व्यक्तिगत प्रयोजनमा बचत तथा ब्याज आम्दानीबाट सङ्कलित रकमको उपयोग गर्ने प्रवृत्तिले सरकारले र सेयर सदस्यले सोचेबमोजिम स्थानीय स्रोतसाधन परिचालन गरी देशको आर्थिक र सामाजिक विकासमा काचुली फेर्नेतर्फ नलागी सहकारी संस्थालाई समस्याग्रस्त बनाई सहकारीलाई बदनाम बनाउन पुग्नुले नेपाली सहकारी विकासको क्षेत्रमा भाजो हालेको अनुभव हुन्छ । 

नेपाल सरकारले समस्याग्रस्त भएका सहकारीको व्यवस्थापनका लागि गठित गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट हाल २०८१ चैत मसान्तसम्म समस्याग्रस्त रहेका २३ सहकारी संस्थाका कुल ६२ हजार ७६० बचतकर्तामध्ये एक हजार दुई सय ९९ बचत कर्ताको बचत फिर्ता गरी केही बचतकर्तालाई राहतको श्वास फेर्न पाएका छन् । समितिले बचत फिर्ता गर्न संस्थाको सम्पत्ति बिक्री, संस्थाले असुल्नुपर्ने ऋण असुली जस्ता कार्यलाई तीव्र्रता दिएको जनाएको छ । नेपालमा केही सहकारी संस्था समस्याग्रस्त हुनुले अन्य सक्षम र सुदृढ सहकारी संस्थामा पनि शङ्का र जिज्ञसाले हेर्नु स्वाभाविक नै हो । नेपाल सरकारले सहकारीको दिगो विकास र विस्तारका लागि विभिन्न कदम चलेको छ । मुलुकको सङ्घ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्रभित्र रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न यही २०८१ पुस १४ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको छ । यसले आफ्नो काम सुरु गरिसकेको छ । 

हाल नेपाल राष्ट्र बैङ्क र सहकारी नियमन प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत सङ्कलनको सीमा अन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्थाले सहकारीको निक्षेप र ऋण लगानीमा सन्तुलित बनाएको आभास मिल्छ । सेयर सदस्य भएको कम्तीमा एक सय दिन पछि मात्र कारोबार गर्ने प्रावधानले सहकारी समस्यग्रस्त हुनुबाट रोकिने आकलन गर्न सकिन्छ । 

नेपालको सहकरीको क्षेत्रले विभिन्न समस्या झेल्दै आएको छ । संस्थामा सुशासनको कमी, नियमन निकायको प्रभावकारी अनुगमन नहुनु, एकै व्यक्तिले सञ्चालक र कर्मचारीको पदमा रही संस्था सञ्चालन गर्नु, आर्थिक पारदर्शिताको अभाव, संस्था प्रविधिमैत्री नहुनु, सहकारी सदस्यमा शिक्षाको कमी, सञ्चालकमा वित्तीय परिचालन र ऐन नियममा ज्ञानको कमी, सङ्ख्यात्मक रूपमा महिला सेयर सदस्यको कमी, सेयर सदस्यबाट नियमित बचत गर्ने बानीमा कमी जस्ता थुप्रै समस्या छन् । सहकारीको सञ्चालक तथा सदस्यमा तालिम र विकाससम्बन्धी कार्य नगन्य मात्रामा हुनुले सहकारी क्षेत्रमा उत्साहजनक उपलब्धि प्राप्त हुन सकेको छैन । 

एकता, पारस्परिकता र विश्वासनीयता सहकारीका मूलभूत विशेषता हुन् । सहकारी सञ्चालनमा बढीभन्दा बढी नाफा कमाउनुभन्दा स्थानीय स्रोतसाधनको भरपुर उपयोग गरी वित्तीय रूपमा जीवन्त रही दिगो सञ्चालनको अपेक्षा रहनु श्रेयस्कर हुन्छ । यसका लागि सञ्चालकमा सञ्चालनको ज्ञान, सदस्यको भलाइ हुने लगानीको क्षेत्रको पहिचान र कार्य सम्पादनमा प्रतिबद्धता हुनु आवश्यक छ । युरोप, अमेरिका, अफ्रिकाका साथै एसिया महादेशका कतिपय देशमा सञ्चालनमा रहेका सक्षम र भरोसापूर्ण सहकारी संस्थाको अनुभवलाई नियाल्ने हो भने ती संस्थाले दिगो आर्थिक विकास र स्थानीय वातावरण र संस्कृतिको प्रवर्धन गर्न महìवपूर्ण भूमिका खेलेको पाउँछौँ । 

नेपालमा अधिकांश सहकारी संस्था कृषि तथा उद्यमजन्य सहकारीभन्दा बचत तथा ऋण सहकारी संस्थाको रूपमा सञ्चालित भएका छन् । सहकारी भनेको जनताको आर्थिक गर्जो टार्ने र सामाजिक हैसियत उकास्न मद्दत पु¥याउने सेयर सदस्यद्वारा प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालित संस्थाको रूपमा बुझ्नु पर्छ । सहकारी संस्था त्यो अवस्थामा राम्रो हुन्छ, जब संस्था हाम्रो हो भन्ने सदस्यको मनमा पर्छ । सहकारीमा सुशासन, पारदर्शिता कायम राख्दै कर्जा प्रवाह संस्थाको कार्यविधि अनुकूल हुनु जरुरी छ ।