राममणि दाहाल
मकवानपुर, असार २३ गते । बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।
बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को मन्त्रालयगत विभिन्न शीर्षकहरु माथिको प्रदेश सभामा छलफल सोमबार सकिएको हो ।
सोमबार बसेको प्रदेशसभा बैठकमा छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले बजेट निर्माणको सुधार गर्न माग गर्नुभयो ।
प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले बजेट सबैको साझा दस्तावेज हुन सक्नुपर्ने भन्दै गौरवको योजना आउन नसकेको बताउनुभयो ।
प्रदेशसभा सदस्य जगन्नाथ थपलियाले यो पटक प्रदेशसभा सदस्यहरुको योजना मागलाई सम्बोधन भएको भन्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, प्रदेशसभा सदस्य मधुसूदन पौडेलले बजेट निर्माण प्रक्रियामा त्रुटि रहेको भन्दै योजना निर्माणमा नागरिक, स्थानीय तहलाई समेत सहभागी बनाउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले सरकार जिम्मेवार भएर चलेमा प्रदेश पनि ठीक ढङ्गले अगाडि बढ्ने भन्दै बजेट नभएको र काम नभएको मन्त्रालयहरुलाई गाभ्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य गोविन्द लम्सालले बजेट कार्यान्वयन पक्ष कमजोर रहेकाले प्रभावकारी बनाउनु आवश्यक भएको सुझाव दिँदै ग्रामीण क्षेत्रमा साना योजनाको महत्व हुने र यसको दुरुपयोग गर्न नहुने बताउनुभयो ।