• २३ असार २०८२, सोमबार

घाटसम्म शव वाहन निःशुल्क

blog

वराहक्षेत्र नगरमा निःशुल्क सेवा दिन ल्याइएको शव वाहन । तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, असार २३ गते । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका नागरिकको लागि शव वाहन सेवा निःशुल्क गरेको छ । नगपालिकाले नगरबासीका लागि शव घरदेखि घाटसम्म पुर्‍याउन शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो । 

नगरपालिकामा शव वाहन नहुँदा अन्तिम संस्कारका लागि घाटसम्म र पोष्टमार्टमका लागि शव लैजान सवारी पाउन समस्या र सवारी भेटिए पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । घरदेखि घाटसम्म शव लैजान शव वाहनको अभाव हुने गरेकाले नगरबासीको आवश्यकता पूर्ति गर्न शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको बताइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१ र २०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २५ लाख ३९ हजारमा उक्त शव वाहन खरिद गरेको नगरपालिकाले जनाएको छ । घरदेखि घाटसम्म र नगरक्षेत्रभित्र वेबारीसे शव, सप्तकोशी नदी परिसरमा फेला पर्ने शवको पोष्टमार्टमका लागि अस्पतालसम्म पुर्‍याउन शव वाहन खरिद गरिएको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वराहक्षेत्र नगरभरिका नागरिकलाई दुःखमा पनि साथ दिन शव वाहन सेवा सुरु गरेका छौँ ।”  नगरबासीका लागि आवश्यकताअनुसार २४ घण्टा शव वाहनको सेवा उपलब्ध होस् भनी निःशुल्क शव वाहन सेवा सुचारु गरिएको बताइएको छ । 

वराहक्षेत्र नगरपालिकाकोे मातहतमा रहनेगरी शव वाहन सेवा सञ्चालनमा ल्याइएको छ । नगरवासीले बाहिरबाट शव वाहन बोलाउँदा महङ्गो शुल्क बुझाउँदै आएकोमा निःशुल्क शव वाहनको सेवाले दुःखद अवस्थामा राहत मिल्ने बताइएको छ ।