• २२ असार २०८२, आइतबार

एसइई उत्तीर्ण १२९ विद्यार्थीलाई गाउँपालिकाद्वारा साइकल उपहार

blog

साइकल वितरण गरिँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार २२ गते । रूपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार प्रदान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बिच विद्यार्थीलाई साइकल वितरण गरेको हो ।

वि.स २०८१ सालको एसइई परीक्षामा रोहिणी गाउँपालिकाभित्र रहेका सामुदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट तीन गरी १२९ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताउनुभयो । उहाँले आगामी दिनमापनि साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । ‘विद्यार्थीलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साइकल वितरण गरिएको हो,’ उहाँले भन्नुभयो ।

अघिल्ला वर्षभन्दा यस वर्ष सामुदायिक विद्यालयको नतिजामा सुधार आएको उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिका विद्यार्थीको साथमा रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागि परेको बताउनुभयो ।

श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रकुमार यादवले गाउँपालिकाले गरेको साइकल वितरण कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

एसइईमा ३ दशमलव ६६ जिपीए ल्याउने छिपागढ माविकी विद्यार्थी अस्मिता यादवले गाउँपालिकाले साइकल वितरण गरेपछि हौसला बढेको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।