• ७ मंसिर २०८१, शुक्रबार

प्रदीपसँगै दिल्ली–बनारस

blog

नेपाली बौद्धिकजगत्मध्ये औँलामा गन्न सकिने बौद्धिक व्यक्ति प्रदीप गिरीको गत भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा निधन भयो । भदौ ५ मा नेपाल सरकारले बौद्धिकता, इमानदारी, सादगी जीवन व्यतीत गर्ने व्यक्तिको कदर गर्दै आर्यघाटमा राजकीय सम्मान दिएर अन्त्येष्टि गर्नुलाई सबैले प्रशंसा पनि गरेका छन् । 

राजनीति र साहित्यमा दखल भएका व्यक्तिको अब खोजी गर्नुपर्छ । पाइहालियो भने पनि मीनाकुमारी जस्तो अभिनय गर्ने नायिका र त्यत्तिकै उच्चस्तरीय अभिनय गर्ने दिलीपकुमार जस्तो नायक अब विश्वले पाउँदैन भन्ने जस्तो कुरा साहित्य र राजनीतिमा अलिअलि पौडी खेल्न जान्नेले पनि भन्न सक्दैन । ‘माड्सापलाई अक्षर शिरोमणि टाइटल मैले नरहरि आचार्यसित सल्लाहमा दिएको हुँ । म उहाँको विद्वताबाट पूर्ण परिचित छु । तसर्थ विद्वताको खानी नै भएको व्यक्तित्वको रूपमा लिन्छु । उहाँलाई उच्च सम्मान गर्छु । उहाँले लेख्नुभएका सम्पूर्ण किताब मसित छ । रिफरेन्सका लागि बारम्बार तिनको प्रयोग गरिरहेको हुन्छु ।’ मदनमणि दीक्षितको आनन्दमय आकाशको भूमिका मलाई दिँदै भन्नुभएको थियो प्रदीपजीले । 

एक पटक सी.पी.आई.का प्रभावशाली नेता दीपक मल्लिककहाँ लिएर जानु भयो । त्यहाँ त हामीले रात नै बितायौँ । म त १२ बजे सुतेँ । उहाँहरू दुवैजना बिहान तीन–चार बजेसम्म कुराकानी गरिराख्नु भएको देखेँ ।

प्रदीपजी कहिलेकाहीँ वैदिक विषयमा छलफल गर्न आउने गर्नुहुन्थ्यो । मेरो पनि घनिष्टता थियो प्रदीपजीसित । बस्तीपुर, जनकपुर, पटना, दिल्ली र बनारस सँगै घुम्न गएका थियौँ । यहाँ ती घुमाइका झल्को प्रस्तुत छ । 

२०४४ सालतिर हो, दशैँताका प्रदीप गिरीजीले मलाई “सुरुमा दिल्ली गएर त्यहाँ रहेका केही व्यक्तिसितको भेटघाट सिध्याएपछि बनारस गई तपाईंको काममा पनि सहयोग गर्न म तयार छु” भनेपछि म निकै उत्साहित भएँ । जाने समय छिटो निर्धारण गर्न प्रदीपजी बस्ने गर्नुभएको घर हालको सेन्ट जेभिएर कलेजको पछाडिपट्टि थापाथलीमा म प्रत्येक दिन जान थालेँ । ‘दशमीपछिको जुन दिनको टिकट पाइन्छ त्यो ल्याउनू’ भनी मेरै सामुन्ने आफ्ना कार्यकर्ताहरूलाई अह्राउनु भएको थियो प्रदीपजीले ।

टिकट पाउन मुस्किल भयो, दशैँको चापले गर्दा तर कोसिस जारी छ भनी प्रत्येक दिनको भेटमा भन्नु हुन्थ्यो प्रदीपजी । हवाइजहाजको टिकट नपाएपछि एकदिन हामी दुवैले बसबाट जनकपुर गएर त्यहाँबाट जयनगर अनि पटना हुँदै दिल्ली जाने निर्णय गर्यौँ । दशमीको भोलिपल्टको रात्रिबसको टिकट पाइयो भन्ने थाहा पाएँ । हामी दुईजना रात्रिबसमा दशैँको भोलिपल्ट जनकपुरका लागि प्रस्थान गर्यौँ । रात्रि निद्रा खोल्दा यसो बाहिर हेर्दा बसले बर्दिबास नाघिसकेको रहेछ भन्ने ठम्याएँ । अब दुई-तीन घण्टामा जनकपुर पुगिन्छ भन्ने कल्पना आँखा चिम्लिएर गर्न थालेँ । 

म त निदाएको रहेछु । बसको घ्वाइँघ्वाइँले पुनः ब्युँझिएँ  । यसो हेर्दा त कमला पुलबाट हाम्रो गाडी गुड्न लागेको देखेँ, मलाई विश्वास नै भएन । चारैतिर हेरेँ, प्रदीपजी लगायत सबै सुतिरहेका । निकै अगाडिको सिटमा एकजना यात्रु आफ्नो दुवै हात टाउको पछाडिपट्टि अड्याउन लागेको देखेपछि उठेर ऊसँग सोधेँ, “अहिले हाम्रो बसले कुन नदी पार गरेको ?” उसले ‘कमला’ भनेर जवाफ दियो । मेरो अनुमान सत्य साबित भयो । 

आत्तिएर प्रदीपजीलाई उठाएँ, अनि भनेँ, “हामी त अर्कै बसमा चढेछौँ, ढल्केबरबाट जनकपुरतिर नगई यो बस त पूर्वतिर लागिरहेछ ।” प्रदीपजीले झ्यालबाट यसो बाहिर हेरेको जस्तो गर्नु भयो । अनि एकछिनपछि भन्नुभयो, “लहानमा झरौँला । अनि भोलि वा पर्सि बस्तीपुर घरमा जाऔँला, लहानबाट एक घण्टा पनि लाग्दैन ।”

वास्तवमा प्रदीपजीले झुक्याउनु भएको रहेछ मलाई । उहाँले जानाजान त्यो रुटको टिकट काट्न लगाउनु भएको रहेछ । हामी लहानमा झर्यौँ । लहानमा उहाँको आगमनलाई कुर्दै रहेछन् । बस्तीपुरबाट रासनपानी पनि आइसकेको रहेछ । अनि त्यहाँ अरूहरूले प्रदीपजीलाई सोधेको पनि सुनियो, ‘कमलेश बाबू पनि दिल्ली सँगै जानुहुन्छ होइन ?’ प्रदीपजीले मतिर हेरेर मुसुक्क हाँस्दै स्वीकृतिपूर्ण रूपमा टाउको हल्लाउँदै जावाफ दिनु भयो तिनीहरूलाई । 

एकदिन लहानमा बसेर दिउँसोतिर बस्तीपुर पुग्यौँ । म पहिले पनि गइसकेकाले प्रायः त्यहाँका पढेलेखेका सबैसित मेरो चिनजान भइसकेको थियो । भाइ कमलेश र अर्को एक तरुण युगेश्वर यादवलाई पनि लिएर हामी चारै जना जनकपुर आयौँ र नातेदार गिरी परिवारकोमा आलोपालो गरी खाने र बस्ने गर्यौँ । जयनगरबाट पटना पुगेपछि वरिष्ठ साहित्यकार बानीरा गिरीको नन्दको घरमा (प्रदीपजीको नातेदार) हो वा सरिता गिरी (भाइ बुहारी) को माइतमा एकदिन बसेपछि रेल चढेर दिल्ली पुग्यौँ । काठमाडौँबाट हिँडेको झन्डै दस दिनपछि । 

दिल्ली पुगेर होटलमा बसी थकान मेटेपछि राष्ट्रवादी काँग्रेस, जसको नेतृत्व शरद पवारले गरेका छन्, त्यसको प्रवक्ताका रूपमा रहेका डी.पी.टी. (देवीप्रकाश त्रिपाठी) को निवासमा मलाई सँगै लिएर गएर घण्टौँघण्टा कुरा गर्नु भयो प्रदीपजीले । अर्को दिन बिहान ट्याक्सी लिएर बाटोमा केही उपहार किनी जवाहरलाल नेहरू युनिभर्सिटीको क्वार्टरमा बस्नुहुने डा. ईश्वर बरालज्यूको निवासमा गयौँ । पछि उहाँको क्वार्टर नजिक रहेको अर्का प्रोफेसर पुष्पेश पन्तको क्वार्टरमा पनि गयौँ । मैले देखेको अद्भूत मानिसमध्ये एक पुष्पेश पन्त पनि हुनुहुन्छ । उहाँको जे विषयमा पनि राम्रो ज्ञान छ । चाहे त्यो कला, साहित्य, संस्कृति, अर्थतन्त्र, समाजशास्त्र, राजनीतिशास्त्र होस् वा चाहे प्राविधिक विषय नै किन नहोस् । भारतीय टेलिभिजन दूरदर्शनले प्रारम्भमा देखाउने गरेको टेलिशृङ्खला ‘बुनियाद’ कथाको विषयवस्तु पन्तजीकै कल्पना हो । ‘बुनियाद’ टेलिशृङ्खलाबारे प्रदीपजीको बेग्लै भनाइ थियो । लामो वार्तापछि पुष्पेशजीले प्रदीपजीले भनेको कुरा ठीक हो भन्दै ‘काश बुनियाद लिखनेसे पहले आपसे मुलाकात होती’ भने । 

सात दिन बस्यौँ दिल्लीमा । मैले पहिलेदेखि देखेको ठाउँ र नदेखेको ठाउँ गरी अर्थात् हेर्नुपर्ने सम्पूर्ण ठाउँ हेरेँ, दिल्ली घुमियो । प्रत्येक ठाउँमा जाँदा त्यो ठाउँबारे त्यसको निर्माणकर्ताबारे, नौलो–नौलो मैले नसुनेको कुरा प्रदीपजी भन्ने गर्नुहुन्थ्यो । 

एकदिन प्रदीपजीले ‘दिनमान’ पत्रिकाको कार्यालयमा लग्नु भयो । तिनताका उक्त पत्रिकाको बिक्री नेपालमा अत्यधिक थियो । सम्पादक जनकपुर नजिक रहेको बिहारको मधुवनीनिवासी झा थरका व्यक्ति थिए (नाम अहिले सम्झना भएन) । चिट पठाउने बित्तिकै आफैँ आएर ढोका खोली प्रदीपजीको खुट्टानेर दुवै हात राख्दै सम्पादकले उहाँलाई प्रणाम गरे । हामी तीनजना मात्र थियौँ र कुराकानी लम्बिँदै गइरहेको थियो । ‘दिनमान’का ती सम्पादकलाई अरूहरू पनि भेट्न इच्छुक थिए । त्यसैले कोठा बाहिर कुरेर बेलाबखत आ–आफ्नो नाउँको चिट सहयोगीद्वारा पठाइरहेका थिए तर सम्पादक प्रदीपजीसित कुराकानीमा व्यस्त भएकाले 

‘मिटिङ भइरहेछ भनी देऊ’ भन्ने गर्थे सहयोगीलाई । उहाँहरू दुवैबीच राजनीतिक कुरा, साहित्यका कुरा तथा दिवङ्गत सरोज कोइरालाबारे पनि कुराकानी भइरह्यो । हो उनले मसित पनि कुरा गरे र भने, ‘आपतो हमसेभी खुबसुरत हिन्दी बोलतेँ है । आपको नेपाली कोही नहि कहेगा ।’ मैले म सय प्रतिशत नेपाली हुँ भनेँ । 

सम्पादकको कार्यालय नजिक उही तलामा ‘सारिका’ (कथाप्रधान) को कार्यालय रहेछ । बाहिर सम्पादक ‘अवधनारायण मुद्गल’ लेखेको देखेँ । तिनताका नेपालमा तरुण साहित्यप्रेमीहरू माझ ‘सारिका’ निकै लोकप्रिय थियो । रमेश उपाध्याय, से.रा. यात्रा, जितेन्द्र भाटिया, अवधनारायण मुद्गलहरू त्यो बेलाका चर्चित कथाकार थिए । मलाई मुद्गलसित भेट गर्न मन लाग्यो र प्रदीपजी र झाजीलाई जानकारी दिएर मुद्गलजीको कार्यालयमा गएँ र आफ्नो परिचय साहित्यमा रुचि राख्ने व्यक्तिको रूपमा दिएँ । 

कुरा गराइमा मुद्गलजी पटक्कै आकर्षक लागेन । उनले सोधेका थिए, ‘नेपालमा साहित्यसम्बन्धी कुन संस्था छ ? अलिकति पैसा खर्च गर्न सक्ने ?’ उनको यस्तो कुरो सुनेर मैले ‘सयौँ त्यस्ता छन्, त्यसबाहेक पचास वर्षदेखि एकेडेमी छ, किन सोध्नु भएको’ भनेपछि उनले साहित्य गोष्ठी गराउन, प्रवचन दिन आफू र चित्रा मुद्गल (उनकी श्रीमती तथा लेखिका) का साथै मिल्यो भने एक÷दुईजना अरूलाई पनि ल्याउँछौँ भने । मलाई मुद्गलजीका कुरा मन परेन । त्यसैले त्यहाँ धेरै कुरा नगर्ने विचार गरेँ । म आधा घण्टाभित्र पुनः झाजीको कोठामा जाँदा प्रदीपजी निस्कने तरखर गर्दै हुनु हुन्थ्यो ।  हामी अब बनारस जाने भयौँ । अचम्म लाग्यो । वरिष्ठ राजनीतिज्ञ, बुद्धिजीवी ऋषिकेश शाहको पनि रेलमा हामी छेउमा नै सिट रहेछ । लामो यात्रामा उहाँसित कुराकानी भए । बनारस हिन्दु विश्वविद्यालयमा प्रवचन दिन त्यहाँ जान लाग्नुभएको रहेछ । 

बनारसमा हिँड्दा प्रदीपजीलाई नमस्ते गर्ने मानिस ठाउँ ठाउँमा भेटिए । त्यति मात्र होइन, प्रदीपजीले आफ्ना चिनेजानेकालाई भेट्ने अखडाहरूमा पनि लग्नु भयो । त्यहाँ पनि प्रायः नमस्तेको आदानप्रदान मात्र भएको देखेँ । मलाई आश्चर्य लाग्थ्यो । ‘नेपालबाट कहिले आउनु भयो ?’ भनी किन तिनीहरू तथा बाटामा नमस्कार गर्नेहरूले नसोधेको भनी प्रदीपजीलाई भन्दा उहाँले ‘यिनीहरू म बनारसमै छु भन्ठान्छन् । महिना–दुई महिनामा बनारस दुई दिनका लागि भने पनि आउने गर्छु । तपाईंलाई थाहा भएनछ यो कुरो’, भनेर मेरो प्रश्नको जवाफ दिनुभयो । 

त्यसताका बनारस क्षेत्रबाट निर्वाचित चार विधायकमध्ये दुई विधायकको निवासमा लग्नु भयो । त्यहाँ पनि घण्टौँ कुराकानी भए । एक पटक सी.पी.आई.का प्रभावशाली नेता दीपक मल्लिककहाँ लिएर जानु भयो । त्यहाँ त हामीले रात नै बितायौँ । म त १२ बजे सुतेँ । उहाँहरू दुवैजना बिहान तीन–चार बजेसम्म कुराकानी गरिराख्नु भएको देखेँ बाथरुम जान उठ्दा त । 

दस दिनजति बस्दा पनि मेरो निजी काममा मद्दत गर्ने ती मानिस आएनन् । काम नबन्ने भयो र किन बसिराख्नु भनेर प्रदीपजीसित बिदा हुँदै केही सरसामान किनेर म काठमाडौँ फर्कें । 


Author

विनोद दीक्षित