देशको वर्तमान परिस्थितिलाई गहिरिएर हेर्दा पहाडी क्षेत्रका खेतीयोग्य जग्गा बाँझिँदै गएका छन्। खेती गरिएको छ भने पनि जङ्गली जनावरको बिगबिगीबाट खेतीपाती जोगाउन कठिन भएको छ। तराई र सहरका खेतीयोग्य जमिन सिमेन्ट र कङ्क्रिटले भरिँदै गएका छन्। कर्मठ युवाको ठूलो सङ्ख्या वैदेशिक रोजगारीमा बाहिरिएका छन्। जलवायु परिवर्तनका कारण खेती गर्ने वातावरण बिग्रँदै गएको मात्र होइन, यहांँका धेरैजसो कृषक खासगरी युवा महिला काम गर्ने वातावरणबाट टाढिँदै गएको देखिन्छ। नेपाली युवा स्वदेशमा रोजगारी नपाएर बाध्यतावश आफ्नो परिवारबाट टाढा विदेशतिर लागिरहेको अवस्थामा यहाँका उनका परिवारहरू पहाडबाट बसाइँसराइ गरी तराईमा तथा सहरमा बस्ने, काम नगर्ने, आयातित खाद्यान्नको प्रयोग, महँगा कपडा, घडी, मोबाइल फोन, सुनका गरगहनामा सजिसजाउ र सधैँ फुर्सदमा रमाएका देखिन्छन्।
आडम्बरी र देखासिकी जीवनशैलीतर्फ आशक्ति बढेका कारण गृहस्थ्य जीवनमा प्रवेश गरेको पुस्ता परिवारबाट टाढिन बाध्य भएकाले समाजमा अनेकाँै विकृति मौलाएको हामी सबैले महसुस गरेकै कुरा हो। उनीहरूलाई पहिले पहिलेका आमा, दिदीबहिनीहरूले गरेका उत्साहजनक कामको अनुसरण गर्न गर्व लाग्दैन। आफ्ना सासुससुराले बालबालिका हुर्काउँदा भोग्नु परेका दुःख कष्ट, बुहार्तन, पेटभरी खान नपाउँदाको पीडा त दन्त्यकथाजस्तो भइसक्यो। हिजोका दिनमा हाम्रा आमा, दिदीबहिनीहरू विद्यालयसम्म टेक्न पाएनन् तर उनीहरूमा प्रकृति र वातावरणका बारेमा धेरै ज्ञान थियो। आपूmलाई चाहिने सम्पूर्ण औषधिजन्य जडीबुटीहरू आफँै पहिचान गर्ने, संरक्षण गर्ने र उपभोग गर्र्ने चलनको विकास भएको थियो। असार र साउन महिनाभरि त वर्ष दिनलाई पुग्ने खाद्यान्न जोहो गर्नका लागि खेतीपातीमा व्यस्त बन्नु पर्दथ्यो। अन्धविश्वास र कुरीति व्याप्त थियो तापनि अहिलेजस्तो श्रीमान्को आयु वृद्धिका लागि भनेर आफ्नै शरीरमा शिरदेखि पाउसम्मको आवरण हरियो बनाएर साउन महिना मनाउने तथा एक महिना पहिलादेखि दर खाने तीज मनाउने भड्किलो र खर्चिलो परम्परा भने चलनमा थिएन।
नेपाली समाजका चाडपर्वहरू हाम्रा सांस्कृतिक सम्पदा हुन्। यिनीहरूले हाम्रो मौलिकता, पूर्खाप्रतिको सम्मान र हाम्रो पहिचानलाई जीवित राख्न सघाउँछन्। विगतका दिनहरूमा उत्पादनमा व्यस्त भएका महिला भदौ महिना लागेपछि मात्र दिनभरीको कृषि कामबाट फुर्सद भएपछि रातको समयमा टोल छिमेकमा जम्मा भएर गीत गाएर रमाइलो गर्ने चलन थियो। सबै आ–आफ्नै घरमा खाना खाएर जम्मा हुन्थे। बारीमा फलेका काँक्राबाहेक चिया खानेसम्मको पनि चलन थिएन। आपूmले भोग्न परेका लैङ्गिक विभेदका कुरा, घरपरिवारमा भोग्नु परेका महिला हिंसाका कथा, बिरामी पर्दा परिवारबाट अपहेलित हुनुपर्दाको दुःख, कामको बोझ भए पनि पेटभरी खान नपाउँदाको पीडा तथा समाजमा घटेका घटना र प्राकृतिक प्रकोपका घटनालाई मालाजस्तै बनाएर तीज गीत आफैँले रचना गर्ने, गाउने र नाच्ने चलन थियो। अहिलेजस्तो सञ्चार क्षेत्रले फड्को मारेको परिस्थिति भएको भए यस्ता सन्देशमूलक गीतका भावले संसारका कुना–कुनामा पुगेका नेपालीलगायत अन्य मुलुकका मानिसले समेत प्रशंसा गर्ने थिए होलान्। दरखाने दिन त एक दिन मात्र हुन्थ्यो, तीज पनि एक दिन मात्र मनाइन्थ्यो।
यसै अवसरमा टाढा–टाढाबाट माइतीघरमा जम्मा भएका बालसखाको लामो समयपछिको भेटघाट, आमाबुवा दाजुभाइसँगको मिलन, आत्मीयता, मेलमिलाप तथा सद्भावका रूपमा लिने गरिन्थ्यो। अघिल्लो दिन रातिसम्म दर खाने र अर्को दिन श्रीमान्को दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर निराहार व्रत बस्ने, महिनावारीलाई पाप हो भन्ने अन्धविश्वासले गर्दा पाप कटाउन पञ्चमी पूजा गरी अर्को दिन कर्मघरको भाका ननघाई फर्कने चलन थियो। एकातिर निराहार बस्ने, अर्को पञ्चमी पूजा गरी पाप कटाउने परम्परा सकारात्मक संस्कृति होइनन्, यो त अचेतनाको पराकाष्ठा हो, जुन अहिलेको समयमा पनि विद्यमान छ। हामी पूर्खाभन्दा कति चेतनशील भयौँ, मापनका लागि कुनै कसीको आवश्यकता पर्दैन यो हाम्रा आजका व्यवहारले पुष्टि गर्दै छ।
तीज आयो भनेर चेलीबेटी बटुल्छन्,
पञ्चमीको अर्को दिन रुँदै पठाउँछन्
आज विज्ञान तथा प्रविधिको विकासले संसारको कुनै स्थानमा होस् वा कसैको घरको कोठामा भएका नेपालीले मनाएका तीज कार्यक्रमका दृश्यहरू संसारभर छरिएका नेपालीले प्रत्यक्ष हेर्न सकिने भएको छ। साउन महिना लागेदेखि नै नेपालमा मात्र होइन, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानलगायतका नेपाली बसोबास गर्ने देशहरूमा तीज कार्यक्रम सञ्चालन भएका देखिएका छन्। सबैले युट्युबमा भएका गीतहरू बजाएर नाच्ने गरेको देखिन्छ, जसमा कपडा र गहनाको बयान तथा मायापीरतिमा आधारित तर अश्लील र उत्तेजनात्मक भाव प्रयोग भएको पाइन्छ। समाजको स्वरूप यसरी बदलियो कि प्रविधिले पनि नयाँ मोड लिएसँगै आधुनिक गीतहरू बनाएर युट्युबमार्फत नाच्ने प्रचलन हावी हुँदै छ, जसमा पुराना मौलिक गीतको त आभास नै हुँदैन बरु तीज मनाउने कार्यक्रममा हिन्दी गीतहरूले प्रश्रय पाउन थालेको देखिन्छ।
हङकङको सारीले नेपालको धुलो उडायो भन्ने गीतले नेपालको बारेमा कस्तो सन्देश दिन्छ ? हामी आफ्नो जन्मभूमिको बदनाम त गरिराखेका छैनौँ ? सोच्न आवश्यक छ।
वेशभूषामा पनि नेपालबाहेक अरू विभिन्न देशबाट आयातित महँगा सारी तथा लेहङ्गा लगाउने प्रवृत्तिको विकास भएको देखिन्छ। पुराना र मौलिक तीजका गीतहरू नगाए पनि गरगहना भने शताब्दी पहिलेका महिलाले लगाउने गरेका जन्तर, छड्के तिलहरी, चन्द्रमा, नौगेडी लगाउने प्रचलन भने बढ्दो क्रममा छ। नेपाली महिलाको जस्तो सुनका गरगहनाप्रतिको आशक्ति सायद विश्वका कुनै देशका महिलामा होला। परम्परालाई अनुसरण गर्ने नाममा साउन महिना लागेदेखि नै घर तथा सरकारी कार्यालय, सङ्घसंस्थाहरू, सहकारी, महिला समूह आदिले दैनिकजसो छुट्टाछुट्टै दर खाने प्रचलन बढ्दो देखिन्छ।
कता गयो मौलिकता, कता गए वेदनाका गीत, कता गयो समाज, कता मोडियो रीतिरिवाज ? सर्जकले पनि तीजको सामाजिक र सांस्कृतिक महìवको पाटोभन्दा व्यापारिक पाटोलाई बढी ध्यान दिँदा संस्कारमा विकृतिले प्रश्रय पाएको भान हुन थालेको छ। कोरोनाजस्तो महामारीमा पनि जमघट गर्ने, आडम्बरी र तडकभडकपूर्ण वातावरणले छाड्न सकेको देखिँदैन।
प्रविधिको यस्तो विकास भइरहेको सन्दर्भमा हाम्रा चाडपर्वहरूले धेरै कुरामा हाम्रो देशको मौलिकता, जातजातिमा भएका परम्परा झल्काउने, देशको गौरव हाम्रा हिमाल, नदीनाला, तालतलैया, पवित्र धार्मिक स्थलको बयान विविधतामा पनि एकता भएको समाजको बयान गरेको हुनुपर्दछ। बुद्ध जन्मेको देशका शान्तिप्रिय हामी नेपालीले विश्वमा शान्ति फैलाउने सन्देशमूलक गीत सिर्जना गरी विश्वमा फैलिँदै गरेको अशान्तिलाई कम गर्ने काममा योगदान पु-याउन सक्नुपर्दछ। सीता र भृकुटीजस्ता आदर्श नारी जन्मेका देशका हामी नेपाली महिलाले आफ्नो क्षमता, योग्यताको विकास गरी धैर्यता र सहनशीलताको खानी र परिवर्तनका संवाहक हौँ भन्ने प्रत्याभूति गराउन सक्नुपर्दछ।
केही दशकयता कतिपय सर्जकहरू जस्तै– हरिदेवी कोइराला, शान्तिश्री परियार तथा विष्णु माझीजस्ता समाज बुझेका, भोगेका व्यक्तिबाट समाजमा भएका विकृति, भ्रष्टाचार र बेथिति, वर्गीय विभेद, जातीय विभेद, लैङ्गिक विभेद, देशको सामाजिक अवस्था, रोजगारीको अभावले विदेशमा नेपाली युवाले भोग्नु परेको पीडा आदिका बारेमा राम्रा र सबैले सुन्नैपर्ने खालका कारुणिक तीज गीत रचना गरेका छन्। यस्ता सिर्जनामा मौलिकता देखिन्छ। हाम्रो कला, संस्कार, संस्कृित र सभ्यता विश्वविजयी छ, यिनैको विकासबाट हाम्रो पहिचान बन्नुपर्दछ । श्रमजीवी वर्गको सम्मान गर्दै सिद्धान्तलाई व्यवहारमा लागू गरी आर्थिक र सामाजिक अधिकारद्वारा समानता स्थापना गर्न सकिन्छ। यसैमा देशको मौलिकता भेटिन्छ। परिवर्तित परिस्थितिसँगै वर्तमान समाजको चित्रण गर्दै तीजको परम्परा र मर्मलाई जोगाउनु आजको आवश्यकता हो। कृत्रिम गतिविधि सृष्टिको गति होइन।