आजभोलि तीज गीतका भाका र तीज मनाउनै शैली निकै नै भड्किलो देखिन थालेको छ। समाजमा आफूलाई धनी देखाउने होडले ऋण खोजेरै भए पनि कपडा किन्ने र कपडाअनुसारकै गरगहना किनेर देखावटी गर्ने चलनले तीज मनाउने शैलीमा प्रतिस्पर्धा हुन पुगेको छ। यसो हुँदा धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको चाड भड्किलो र खर्चिलो बन्दै गएको छ। जसका कारण तीजको सांस्कृतिक र सामाजिक पक्ष कमजोर हुँदै गएको छ।
तीज पर्वको धार्मिक पक्षलाई हेर्दा तीजको इतिहास भगवान् शिव र पार्वतीसँग जोडिएको हुनाले यो पर्व अनादिकालदेखि नै चलिआएको मानिन्छ। शिवलाई पतिका रूपमा पाउँ भनेर पार्वतीले घोर तपस्या गरेकी थिइन्। जति तपस्या गर्दा पनि सपना पूरा नभएपछि भगवान् विष्णुको शरणमा गइन् र भगवान् विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना र पूजा गर्ने तरिकाबारे बेलिविस्तार लगाए। यसरी भगवान् विष्णु अर्थात् हरिले बताएअनुसार पूजा अर्चना गर्दा भगवान् शिव खुसी भएर चिताएको सपना पूरा होस् भनेर वरदान दिएपछि पार्वतीले शिवलाई प्राप्त गरिन् भनिन्छ।
यसरी हरिले बताएको तालिकाअनुसार पूजा गरिने हुनाले यो पर्वलाई हरितालिका तीज भनेर भनिएको छ। यस्तै शिवजीलाई पतिका रूपमा पाउने सपना देख्ने छोरी पार्वतीको चाहनाविरुद्ध पार्वती पिता हिमालय पर्वतले छोरीको विवाह विष्णुसँग गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका साथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यस चाडलाई हरितालिका भनिएको हो भनेर पनि भन्ने गरिन्छ। संस्कृतमा आली भनेको साथी र साथीहरूद्वरा हरण गरिएकी भनेर पनि हरितालिका रहन गएको हो भनेर पनि शास्त्रमा उल्लेख गरिएको छ।
हरितालिका तीजको सामाजिक र सांस्कृतिक पक्ष निकै रोचक छ। सामाजिक मान्यताअनुसार असार–साउन महिनामा लगाइने वर्षेबालीहरू धान तथा तरकारी बाली रोपिसकेर फुर्सदको समयमा घरजम गरेर गएका आफ्ना दिदीबहिनी, चेलिबेटीहरूको हालखबर बुझ्न र सके उनीहरूलाई माइतीमै ल्याएर मिठो मसिनो खुवाउने र उनीहरूको वेदना गीतमार्फत सुन्ने प्रचलन पहिलेदेखि नै चलिआएको हो।
यो कार्यले धेरै पछि भेट भएका परिवारको आपसी सम्बन्ध र सद्भावलाई अझै गाढा बनाउने काम गर्छ तर अहिले फेरिँदै गएको प्रविधियुक्त समयले तीजलाई पनि असर गरेको छ। सांस्कृतिक र गहन सामाजिक अर्थ बोकेको तीजमा आजभोलि पश्चिमाशैली हावी हुन थालेको छ। माइत आएकी चेली बुबा, आमा, दाजुभाइ मिलेर पकाएको दर खाँदै चेलिबेटीका दुःखसुखका वेदना सुन्ने कुरा बिर्सिएर पार्टी प्यालेसमा दुग्धजन्य पकवानभन्दा अन्य पकवानलाई विशेष प्राथमिकतामा राखेर भोज गर्ने, गरगहना र कपडामा कसको राम्रो, महँगो भनेर प्रदर्शन गर्ने तथा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ। साथै चर्काे गीत/सङ्गीतमा उत्ताउलो खालका दुईअर्र्थी गीत बजाएर गरिने नृत्यले तीजको सामाजिक महìव घटाएको कुरा सोचनीय छ।
वर्ष दिनमा माइत आइपुग्ने चेली धक फुकाएर आफ्नो मनको बह गीतमार्फत सुनाउने र नाच्ने तीजको पुरानो मर्म अहिले हराएजस्तो हुन थालेको छ। हामीले सानैमा देखेको तीज मनाउने–मान्ने शैलीमा अहिले धेरै नै परिवर्तन भएको छ। यस्ता क्रियाकलापले तीजको धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई ओझेलमा पारेको छ। यस्ता विकृति हटाउँदै सुसभ्य भएर आफ्ना भावना गीतमार्फत एकअर्कामा साटेर, सम्यक भोजन गर्दै दुःखसुखका कुरा गर्ने जुन तीजको मर्म छ, त्यसलाई बचाउँदै तीज मान्नुपर्ने देखिन्छ।
पहिले पहिले छोरीबुहारीको शिक्षामा पहुँच निकै कम थियो। हुने खानेहरूका छोरीले मात्रै शिक्षामा अवसर पाउँथे तर समयक्रमसँगै छोरी अनि बुहारीले पढ्न पाउने समय आयो। छोरीले पढाइसँगै विभिन्न आर्थिक उपार्जनका काम गर्न थाले। त्यसैको फलस्वरूप पहिलेको समयमा जस्तो छोरी बिहेवारी गरेर गइसकेपछि घरमा थिचोमिचो, झैझगडा कम भएको हुनुपर्छ। त्यसपछि तीज गीतका भावमा दुःख र वेदनाभन्दा पनि महिला जागरण तथा छोराछोरी बराबर हुन् भन्ने भाव बोकेका गीत सुन्न थालियो। जुन समाज परिवर्तनसँगै सकरात्मक थियो भन्न सकिन्छ।
शिक्षासँंगैको आर्थिक उपार्जनले महिलाको सोच र जीवनस्तर माथि उकासिनु राम्रो पक्ष हो तर शिक्षित र आधुनिक भयौँ भन्दैमा तीजको परम्परागत सहिष्णुताको मुख्य पाटो नै मर्ने गरेर पार्टी प्यालेसमा उत्ताउलो र भड्किलो गीतमा नाच्नु कति उचित होला ? यस प्रकारको कार्यले तीजको मर्म र महत्वलाई मारेको मात्रै छैन, संस्कार र संस्कृतियुक्त तीजलाई असभ्य र कुरूप बनाउन मद्दत गरेको छ। हाम्रा चाडपर्वको मौलिकता बचाउने र कुसंस्कृतिलाई परिवर्तन गर्ने जिम्मा अबको शिक्षित पुस्तामा अडिएको छ। जस्तै– हरितालिका तीजको महìवपूर्ण दिन ऋषि पञ्चमी पनि हो। यस दिनमा रजस्वला भएका महिलाले उक्त समयमा छोइएर भएका पाप दत्तिवन टोकेर, नदीमा स्नान गरेपछि पखालिने कुरा उल्लेख छ।
सरसर्ती हेर्दा हिन्दु धर्मका केही पौराणिक ग्रन्थमा महिला महिनावारी हुँदा छोइने कुरा अपवित्र र नकारात्मक हो भनेर व्याख्या गरिएको पाइन्छ। परापूर्वकालमा ऋग्वेदमा यदि कुनै पुरुषले पाप ग-यो भने उसको दोष हटाउनका लागि विभिन्न क्षमायाचना पूजा विधि गर्नुपर्ने र यदि कुनै महिलाले पाप गरेको छ भने उसको मासिक रजस्वला भएपछि स्वतः उनी दोषमुक्त हुने कुरा उल्लेख गरिएको छ तर यही कुरालाई अपभ्रंश गर्दै पछि लेखिएका धार्मिक ग्रन्थमा महिलाको प्रकृतिमाथि नै दोष लगाएर उनीहरूलाई सानो देखाउन खोजिएको हो कि भन्ने भान हुन्छ। त्यसैले यो विषयलाई समयानुसार वैज्ञानिक दृष्टिकोणले अध्ययन, अनुसन्धान र बहस हुन जरुरी देखिन्छ र ऋषि पञ्चमीको वास्तविक अर्थ खोज्नुतिर लाग्नु सान्दर्भिक हुनेछ।
समय र पुस्ताअनुसार परिवर्तन स्वाभाविकै हो तर कुनै पनि कुराको मूल तत्व, मर्म नै हराउने गरेर भएको परिवर्तनलाई मौलिक मान्न सकिँदैन। तीजको मौलिकता, सामाजिक तथा सांस्कृितक पाटोलाई जोगाउन नयाँ पुस्ताले सोच्नुपर्ने बेला आएको छ।