• १ जेठ २०८२, बिहिबार

दजाकोटमा सुरुभयो फाइवर झोला उत्पादन

blog

मुसिकोट नगरपालिका –४ को दजाकोटमा फाइवर झोला उत्पादन हुँदै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, जेठ १ गते । मुसिकोट नगरपालिकामा फाइवर झोला बनाउन सुरु गरिएको छ । प्लाष्टिक बिस्थापनसहित ग्रामीण स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाले साझेदारीमा फाइवर झोला निर्माणको काम थालेको हो । 

मुसिकोट नगरपालिका –४ दजाकोटमा फाइवर झोला उत्पादन सुरु भएपछि केहीले रोजगार पाउने विश्वास स्थानीयको छ । मुसिकोट नगरपालिकाको ८० प्रतिशत र मुसिकोट लघुउद्यम समूह दजाकोटको साझेदारीमा फाइवर झोला निर्माण गर्न लागिएको मुसिकोट लघुउद्यम समूह दजाकोटका उपाध्यक्ष सोम दर्लामीले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिकामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत तालिम र उपकरण प्रदान गरेर फाइवर झोला उत्पादन सुरु गरिएको छ । अहिले स्थानीय लालीगुराँस युवा क्लवको भवनमा मेसिन राखेर झोला उत्पादन भइरहेको छ । 

फाइवर झोला उत्पादनलाई नगरभित्र सबैको अपनत्व गराउन ५० जना शेयर सदस्य हुनुहुन्छ । प्रत्येकले दुई हजार रुपियाँ उठाएर व्यावस्थापकीय काम भएकाले आगामी दिनमा अझै धेरै आयमुलक कामका लागि सामाजिक सुरक्षा भत्ता लिनेदेखि जनप्रतिनिधि शेयरमा आवद्ध भएको दर्मामीले बताउनुभयो । 

उहाँले नगरपालिकाले कच्चा पदार्थ र प्रिन्ट मेसिनमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । अहिले स्थानीय बजारमा फाइवर झोला बिक्री भइरहेको छ । प्रिन्ट मेसिन नभएकाले सादा रुपमा झोला उत्पादन हुँदैआएको छ । प्रिन्ट मेसिन महङ्गो हुने भएकाले आगामी बजेटबाट खरिद गरिने गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उद्यम विकास सहजकर्ता चम्फा खड्काले बताउनुभयो । 

उहाँका अनुसार मुसिकोट नगरपालिकामा २०७७ सालबाट गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु भएको हो । अघिल्लो बर्ष मुसिकोट नगरपालिका –१ मा परिश्रमिक कृषि सहकारी संस्थामार्फत दुना टपरी उद्योग सञ्चालन गरिएको थियो । यो बर्ष स्थानीय सहकारीहरुमार्फत मल बनाउने तालिम सुरु गर्ने निर्णय भएको सहजकर्ता खड्काले बताउनुभयो । 

त्यस्तै, विगतमा डल कुशन तालिम, बाँसका र पोस्करको व्याग टोपी बनाउने तालिम, व्यूटिपार्लर, तरकारी तथा पशुपालन एवं ढाका सामग्री उत्पादन तालिमहरु सञ्चालन भएको छ । 

मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल (जीवन) ले स्थानीय जनसमुदायको आयआर्जनमा थोरै भए पनि टेवा दिन लघु उद्यम परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले दजाकोटमा स्थानीयबासी निकै सक्रिय भएकाले फाइवर झोला उत्पादन राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । 

नगरबाट पनि कृषि, पशुपालन सहितको विभिन्न क्षेत्रमार्फत स्थानीय युवा तथा कृषकलाई सहयोग र सहजीकरण भइरहेको खरेलले बताउनुभयो ।