• २१ असार २०८२, शनिबार

पोषणमैत्री नगर बनाउने तयारी

blog

वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको पोषणमैत्री स्थानीय शासन प्रवर्धन विषयक अभिमुखीकरण कार्यक्रममा सहभागिहरु । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, असार २१ गते ।
सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ ।

नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन प्रवर्धन विषयक अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले बोल्नुहुँदै भन्नुभयो, ‘‘खाद्य स्वच्छताको ग्यारेण्टी गर्न हामीले अनुगमन प्रक्रिया अझ कडाइका साथ लागू गर्दैछौं ।’’

उहाँले होटल तथा खाजा घरहरूमा केन्द्रित खाद्य गुणस्तर अनुगमन अब ठेला तथा फुटपाथ व्यवसायमा समेत विस्तार गरिने बताउनुभयो । ‘‘पोषणमैत्री नगर बनाउने हाम्रो अभियान हो ।,’’ प्रमुख ढकालले भन्नुभयो, ‘‘अबदेखि सडक छेउका खाद्य सामग्री पनि स्वास्थ्यका लागि उपयुक्त छन् कि छैनन् भन्ने कुरा परीक्षण हुनेछ ।’’

साथै, नगरपालिकाले ठेला व्यवसायीहरूले जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्ने बताइएको छ । प्रमुख ढकालका अनुसार आगामी वर्षभित्र वीरेन्द्रनगरलाई पूर्ण पोषणमैत्री पालिका बनाउने लक्ष्यसहित योजना अघि बढाइएको छ । सङ्घीय सरकारले निर्माण गरेको पोषणमैत्री स्थानीय तह शासन कार्यान्वयन कार्यविधि २०८० अनुसार व्यवस्थित योजना बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसबाहेक सङ्घीय सरकारबाट स्वीकृत बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा रहेको र यस योजनामार्फत कुपोषण अन्त्य, मानव पूँजी निर्माण, र दीर्घकालीन आर्थिक, सामाजिक विकास हासिल गर्ने अभियानमा नगरपालिका अग्रसर रहेको उहाँले बताउनुभयो ।