• २१ असार २०८२, शनिबार

मन्त्रालयहरूले सूचना दिँदैनन् : प्रदेश सरकारका प्रवक्ता

blog

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने प्रदेश सूचनाको हक पुनःरावेदन समितिको आयोजनामा सौराहामा शनिबार सूचनाको हक प्रवर्धन कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : बसन्त पराजुली

बसन्त पराजुली
सौराहा, असार २१ गते । 
बागमति प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सूचना आदान प्रदानमा मन्त्रालयहरू बिचमा समन्वय नभएको गुनासो गर्नुभएको छ ।

प्रदेश सूचनाको हक पुनरावेदन समितिको आयोजनामा सौराहामा शनिबार सूचनाको हक प्रवर्धन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रदेशका मन्त्रालयहरूले आफ्नो मन्त्रालयलाई सूचना नदिने गरेका आरोप लगाउनुभयो ।

“प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रवक्ता हो । प्रवक्ताले नै सबै मन्त्रालयको सूचना पाउँदैन । कसरी अरूलाई सूचना दिनु’’, उहाँले भन्नुभयो ।

लोकतन्त्रमा सूचना पाउने नागरिकको नैसर्गिक अधिकार भएको बताउनुहुँदै मन्त्री लामिछानेले देशमा सुशासन कायम गर्न पनि सूचना पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले सूचना पाउने नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो ।मन्त्रालयका उपसचिव भूवन आचार्यले सूचनाको हक स्थापित गराउन सूचनाको परीक्षण जरुरी रहेको बताउनुभयो ।