काठमाडौँ, असार २१ गते । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठमेल, पोखरा, सौराहा लगायतका पर्यटकहरू लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने बताउनु भयो । पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै पर्यटकहरूका लागि पर्यटन क्षेत्रहरू २४ सै घण्टा खुला गर्नुपर्ने बताउनु भयो । यसले रोजगारी, व्यवसाय बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘९ बजे होटेल बन्द गर्छन् । ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन् । सुत्न नपाएर नेपाल आएको पनि होइन । पुलिस जान्छ सेक्युरिटी छैन भन्छ । त्यो स्पेसल पुलिस राख्नुपर्छ । किन ९ बजे नै बन्द गर्ने त्यसलाई विस्तार गर्नुपर्छ । मजदुरले काम पाउँछन् । व्यवसायीको बिक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ । भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठुलो सम्भावना छ । तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ ।’
उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठुलो पुलको काम गर्ने उल्लेख गर्नुभयो ।