• २१ असार २०८२, शनिबार

फाँटमा गुन्जिन छाडे सजना

blog

थारू कृषि लोकगीतमा द्वापर युगका श्रीकृष्ण र महाभारतकालीन गाथा समाहित हुनुले थारू समुदायमा प्राचीन कृषि प्रणालीको झझल्को देखिन्छ । रोपाइँका बेला घामपानीबाट जोगिन छटरी 

(डन्डी नभएको परम्परागत छाता) मुुन्तिर बसेर धानको बेर्ना उखेल्न मचिया, खटोली (सानो खटिया), धान राख्ने माटोको भकारी (डेहरी, कुठला, कुठली) हिलोमा लगाएर हिँड्न खराउ, धान बोक्न सिक्हर बहिङ्गा, सामान ओसार्न लह्रिया (गाडा), खेतमा खाना पु-याउन जाँदा प्रयोग हुने सामग्री ढकिया, डेलवा, बिँडा, सिरहट्टा, पानी खाने करवा, जाँड खाने करै, बस्नलाई बेर्री जस्ता सामग्री आफैँ बनाउँछन्, थारू किसान । मुसाबाट अन्न जोगाउन काठको ओड्रा (पासो) थारू बस्तीमा अझै पनि देख्न पाइन्छ ।

गीत सुसेल्दै खेतीपाती गरे श्रमिकको थकान मेटिन्छ, एक प्रकारको उत्साह जाग्दछ । त्यसैले कृषि पेसा अपनाएका प्रायः आदिवासी जनजातिमा कृषिसम्बन्धी गीत फेला पर्दछ । थारू लोकजीवनमा सजना, मैना, होरी, अस्टिम्की, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रतनचवा, दिननचवा, बिरहैन जस्ता लोकगीत छन् । प्रायः यी सबै गीतमा खेतीपातीको प्रसङ्ग प्रत्यक्ष अप्रत्यक्ष रूपले जोडिएको छ । यस आलेखमा पश्चिमा थारू समुदायमा कृषिसम्बन्धी सजनालगायत अन्य लोकगीतबारे चर्चा गरिएको छ । खेतीपातीका बेला सजना गीत गाइन्छ । यसमा खेती प्रणाली, सिकारी संस्कार, पौराणिक पात्रका गाथालगायत प्रसङ्ग समेटिएको हुन्छ । 

पानी माग्दै गइया बेंढ्ना

समयमा पानी नपरेमा गइया÷गोरु बेंढ्ना संस्कृति अन्तर्गत सजना गाउँदै पानी पार्न अनुरोध गरिन्छ । गइया÷गोरु बेंढ्ना भनेको गाईगोरुलाई बन्धक बनाइनु हो । पाँच पाण्डव राजा विराट्कहाँ गुप्तवास बस्दा उनीहरूको १२ बर्से वनवासको ध्यान भङ्ग गर्न कौरव पक्षले राजा विराट्का गाईगोरु बन्धक बनाएका थिए । ती गाईगोरु छुटाउन अर्जुन महिलाको भेषमा गएको महाभारतमा मिथक छ । यसरी गइया÷गोरु बेंढ्ना संस्कृतिमा केटीहरू केटाको पोसाक लगाई गाउँ गाउँ छाता ओढेर गीत गाउँदै, तरकारी माग्दै हिँड्छन् । महाभारतको प्रसङ्ग पनि सजनामा आउँछ । ब्याड राख्न पनि पानी नजुर्दा प्रायः वैशाखको अन्त्यतिर गोरु बेंढ्ने चलन छ । गाईलाई बन्धन बनाउने जाने बेला उनीहरू सजना गाउँछन् :

उटरे डखिने चुरवा चम्के रे, कि बिजलि टाँेरगन

काटि ढर्बु रैनि मछरिया कि मेघवा बाबा पानि डेउ । 

उत्तर दक्षिण बिजुली चम्कियो, चुरा पनि चम्कियो । बरु रैनी माछा काटेर चढाउँला, मेघवा बाबा (भ्यागुता) पानी पार्देऊ है । गोरु बेंढनेहरूले गाईसँगै, मेघवा बाबालाई पनि बन्दी बनाउँछन् र भोजन गराउँछन् । सजना गाउँदै गाउँबाहिर निस्किन्छन्– 

चारु कोना कलस ढरैबँु रे कि कलसा मैँ छुआइटुँ

हाँठ जोरि बिन्टि सुरुजा डेउटा कि मै बर्खा मनाइटुँ

पच्छिवैसे उमरल कार रि बडरिया रे,

एक बुन्डा पनिया गिराइडेउ मोर हिरना भिजाइडेउ

अर्थात् चारै कुना कलश राख्न लगाउँला, कलश म छोउँला, ए सूर्य देउता, तिमीसँग कर जोडी बिन्ती गर्दै बर्सातका लागि आह्वान गर्दै छु । पश्चिमबाट कालो बादल आयो तर पूर्व भाग्यो । एक बुँद त पानी पार्देऊ, मेरो हिरना (धर्ती) भिजाइदेऊ । आश्चर्यको कुरा के छ भने जुन दिन जुन गाउँठाउँमा गोरु बेंढना रित पूरा गरिन्छ, त्यो दिन संयोगले त्यस वरपर पानी परेको हुन्छ ।

छोरी, बुहारीको बिलौना

रोपाइँको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । जेठ लाग्दा पनि पानी नपर्दा किसानले सजनाको राग छोड्छन् :

हरे पुरुवसे उमरल कारि रि बडरिया रे, पछिउ चलि जावै,

अरि परि गैला, जेठ–असरिया, पनिया नहि बरसल ।

अर्थात् पूर्वबाट कालो बादल मडारियो र पश्चिमा गएर बिलायो । जेठ, असार महिना लाग्दासमेत पानी परेन । उता पानी नपरी खेती  गर्न नपाउँदा आफ्ना अभिभावकलाई दुःखी भएको देखेर उनकी जवान छोरी पनि बिलौना गर्छिन् सजनामार्फत–

हरे गिउरक बिनल झलुरि छटरिया रे, उपरे पावोन डोलै

अरि छि छि बुन्डा पनिया न परल, मोर चुन्डरि नै भिजल  । 

भँगेराले बनाएको छटरी (गाउँले छाता) माथि माथि हावा बह्यो । सामान्य एक बुँद पानीसम्म परेन, मेरो चुनरी नै भिजेन । जब पानी पर्छ, किसान खेतमा ओइरिन्छन् । यता पुरुष नभएको घरको महिला पानी परे पनि खुसी हुन्नन् । 

सावन सजनि बरसे झिन बुँडिया रे, टुटे बजरा केवरियाँ

अरे रानि भिजै रंगि रे महलिया, पिहा हो परुडेसे । 

खेतीपाती गर्ने बेला जाडोले सताएको मौसममा श्रीमान् (राजा) सँगसँगै नभएका बेला कुन चाहिँ रानीको मन खुसी होला र ? रङ्गीन महलमा भिजेर उसको अङ्गमा काँडा उम्रिन्छ तर काँडा सम्याउने पति हुँदैनन् । यता भर्खर भर्खर नयाँ दुलही भिœयाएको श्रीमान् खेतमा काम, घरको यादले उसलाई बढी सताइरहेको हुन्छ । सँगै काम गर्ने गोचाली (साथी) ले उसलाई सजनामार्फत गिज्याउँछ– 

खेट्वा टे जोटल मुरसुवा रे...कि कोडरा छनाछन

कब अइहि लौलि डुल्हनिया, कलवा पानि डेहे । 

अर्थात् मुरसुवा नामक व्यक्ति खेतमा दनादन कोदालो उजाउँदै छ, उसलाई भोकले सताइसक्यो । उसकी नयाँ दुलही कलवा (बिहानको खाना) दिन कति बेला आउँदै छिन् कुन्नी ? उता नयाँ दुलही खाना पानी लिएर खेत पुग्छिन् र सजनामार्फत यसरी उनको भाव व्यक्त हुन्छ –

सिरे टे लेहल गगरिया रे, हाँठे र करुवा पानि 

भुजवा टे लेहल कोछियाइ, चलल खेट पानि डेहे

ना मै डेखुँ रुख्वा, बरिख्वा, ना सिटल जुर छाँहि

घैला छलक चुन्डरि भिजे, कहाँ रे ढारु पैला ? 

(कुशुम्हिया, २०५७ः १९)

शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा भोजन लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रुख देख्छिन्, न कुनै शीतल स्थान । उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ । त्यसैले सोध्छिन्, ए स्वामी घैलाको पानी कहाँ राखुँ हँ ? यसरी किसान खेतीपातीका लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै गीतमय हुन्छ । विडम्बना यो झङ्कार अब सुस्ताउन थालेको छ ।

गीतमा पशुपन्छीका प्रसङ्ग

खेतीपातीका लागि गाईगोरु अभिन्न वस्तु हुन् । सजनामा कान्हा अर्थात् कृष्णको पनि गाथा गाइन्छ । जसमा गाईगोरुको प्रसङ्ग आउँछ –

सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि 

कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि

ना मोरे गौवा हेरानि रे, ना मोरे रहिया भुलानि 

कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ । 

नागिनले सोध्छिन्, “ए कृष्ण, तिम्रो गाई हरायो कि बाटो भुलेर यतापट्टि आयो ।” कृष्णले भन्छन्, “न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ । ए नागिन तिमीहरूले रक्षा गरेको फूल मामाको पूजाका लागि टिप्न आएको हुँ ।” 

अस्टिम्की गीतमा जसरी कृष्णका बाबुलाई हलो बनाउने सामग्री लिन वन पठाएको, खेत जोताएको प्रसङ्ग छ, हुँदा हुँदा महादेव–पार्वतीलाई पनि खेतीपाती गरेको प्रसङ्ग थारू लोकसाहित्यमा ल्याएको देखिन्छ, जसको वर्णन सजनामा भेटिन्छ–

गौरी टे गैनै जगाइ रे, उठो हो महाडेव

बसहा बरडा बेचि डारो, छिन भर सुटो । 

बेटुक डण्डा मारी जगैबुँ रे, उठो हो महादेव । 

टुहिन बिना हाँठ नहिँ पसरी, सुरुज नहिँ उघरी ।

सोइ कइ जागंै महादेव रे, हाँठ मुँह ढोवंै । 

नही बेचबुँ बसहर बरडा, कि छिनभर सुटबुँ । 

कुलप्रसाद थारू, (२०५७) 

यहाँ निदाएका महादेवलाई गौरी (पार्वती)ले भन्छिन्, “कति सुत्छौ ए महादेव, यहाँ ग्राहक आएका छन्, बसहा (गोरु) बेच अनि फेरि सुत्नु । उठेनौ भने त बेतको लट्ठीले कुटेर पनि जगाउँला । उता अल्छी महादेव सुतेर उठीकन हातमुख त धुन्छन् तर बसहा गोरु बेच्दिनँ है भनेर फेरि सुत्न च्यादर तान्छन् –

भोर भइल भिनसरिया रे, मुरगा बाग बोलैं । 

छोरो हो बरडिवा आपन बरडा, मैं पनघट जैबँु ।।१।।

बरडा टे छोरल बरडिवा रे, खेटुवम पुगैलाँ । 

लेउ हो हरोहियो आपन बरडा, मैं घाट छेके जैबुँ ।।२।।

अर्को गीतको प्रसङ्गमा एक गृहिणीले बिहान भयो, भालेसमेत बोलिसके । त्यसैले अब त गोरु फुकाल भनी आफ्नो स्वामीलाई गोठबाट गोरु निकाल्न आग्रह गर्छिन् । उनले ती गोरु खेतमा पु¥याउन पनि सहयोग गर्दै भन्छिन्, लौ गोरु समाल, म त पानी भर्न पानीघाटतिर लागेँ । 

खेतीपाती प्रसङ्गका अन्य गीत

खेतीपाती प्रसङ्ग जोडिएका विविध गीत थारू समुदायमा रहेका छन् । बिउ रोप्ने बेला छुट्टै बिया–बैठौनी गीत गाइन्छ ।

जेठमे जाब असारे नाइ आइब

सावन गुडिया खेलब नइहरवे ।

सावन जाब भादो रे नाइ आइब

भादोमे बरत भुखब नइहरवे ।

बमबहादुर थारू, रूपन्देही (२०७७)

यस गीतमा बाह्रैमासको वर्णन रहेको छ । यहाँ एक चेलीले भन्छिन्, जेठमा जाउँला, असारमा आउँदिनँ । साउनको गुडिया खेल्ने छु माइतीमा । साउनमा जाउँला, भदौको व्रत बस्ने छु माइतीमा । भदौमा जाउँला, असोजमा आउँदिनँ । कात्तिकको दियो जलाउने छु माइतीमा । मङ्सिरमा जाउँला, पुसमा आउँदिनँ । माघमा त्रिवेणी नुहाउन जाने छु माइतीमा । माघमा जाउँला, फागुनको होली खेल्ने छु माइतीमा ।

रोपाइँ सकिएर, धान गोडेर सकिएको खाली समयमा थारू महिला पिङ हालेर ‘सावन बलहा गीत’ पनि गाउँछन् । यस गीतमा साउन महिना सम्झिँदै माइती याद गर्छन् । भाइले घोडा लिएर लिन आएको कल्पना गर्छन् । भाइलाई मिष्ठान्न भोजन पस्किन्छिन् । छोरासहित भाइसँग माइत जान्छिन् – 

उँचवे अमर चढी बैनी जे चितवे, बिरन सावन रे, 

नैहरेक लोग नाही आवे, सावन रे सुहावन रे 

पिसहु रे मैया बिरहन सतुववा, बिरन सावन रे,

हम जाब बहिनी बोलावे, सावन रे सुहावन रे 

घोडवा बान्हहु भैया, ओही घोडसरिया, बिरन सावन रे,

बैठा भैया लाली पलङिया, सावन रे सुहावन रे ।

(सिताराम थारू, रूपन्देही)

टुङ्ग्याउनी 

खेतीपातीका बेला गाइने सजना गीत थारू समुदायमा लोकप्रिय छ । विडम्बना मोबाइलमा गीत सुन्दै रमाउने नयाँ पुस्तालाई यस्तो पौराणिक गीतमा रुचि, चासो नै छैन । नेपालमा कृषि प्रणाली जति पुरानो छ, त्यति नै पुरानो सम्बन्ध थारूलगायत विभिन्न समुदायका लोकगीतमा छ । विडम्बना हलो र हलीको ठाउँमा ट्याक्टर र ड्राइभर, रोपाइँ नै मेसिनले गर्ने प्रविधि भित्रिएर कृषि प्रणालीमा आधुनिकता छाएसँगै कृषिसम्बन्धी लोकगीत लोप हुने अवस्थामा पुगेको छ । केही थारू गायकले रोपाइँ गीत रेकर्ड गर्न थालेको पनि पाइन्छ । तथापि लोकसंस्कृति÷गायन संस्कृतिलाई जीवन्तता दिन, संरक्षण गर्न स्थानीय तहले रोपाइँ गीत प्रतियोगिता आयोजना गर्न जरुरी देखिन्छ ।