• १३ साउन २०८१, आइतबार

वातावरण संरक्षणमा अनुकरणीय अभियान

blog

डा. बद्रीप्रकाश ओझा 

यी  तस्बिर क्रोएसियाली वातावरणवादी अभियन्ता ब्लाजेन्का बेन्कुसले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनी एक ब्रजिलियन जोडीको असल कार्यको प्रचारमा लागेकी छिन्। यस्ता कार्यलाई विश्वभरका मानिसले सुन्नुपर्छ भन्ने उनको तर्क छ।

ब्लाजेन्काले यी तीन तस्बिरसहित आफ्नै भाषामा लेखेको विवरण अत्यन्त सुन्दर छ। इन्टरनेट सञ्जालका कारण मानिसको ज्ञानको व्यवस्थापन गर्न कति सजिलो बन्यो भन्ने उदाहरण पनि हो यो। 

ब्लाजेन्काले राखेको यो तस्बिरमा देखिएको जोडी लैला वानिक र सेबास्टियो साल्बाडोको हो। उनीहरू पति–पत्नी हुन्। उनीहरू ब्राजिलमा बस्छन्। यस जोडीले बितेका १८ वर्षमा २० लाख रुख रोपेका मात्र होइन, हुर्काए पनि। हाल उनीहरूले बनाएको वनमा २९३ प्रजातिका रुख छन् भने रुखका कारण १७२ प्रजातिका चरा, ३३ प्रजातिका स्तनधारी प्राणी, १५ प्रजातिका उभयचर र १५ प्रजातिका घस्रेर हिँड्ने प्राणी बस्छन्। 

यस जोडीले सधैँ भन्ने गर्छ, “यस धर्तीमा अक्सिजनलाई कार्बनडाइअक्साइडमा बदल्ने एउटा मात्र जीवित वस्तु रुख हो, त्यसैले हामीले वन फँडानी भएका ठाउँमा वृक्षरोपण गर्नैपर्छ।” लैला र सेबास्टियोको जोडीले स्थानीय प्रजातिका रुख मात्र रोपे र उराठिलो ठाउँको इकोसिस्टम नै परिवर्तन गरिदिए। यसबाट दर्जनौँ लोपोन्मुख प्राणी तथा वनस्पतिको संरक्षण भएको दाबी गर्छिन् अभियन्ता ब्लाजेन्का। 

“हाम्रो छेउको यो धर्ती उजाड थियो। मेरी पत्नीले रुख लगाउने गज्जबको विचार गरिन्। हामीले रुख रोप्दै जाँदा जङ्गल बढेपछि पहिले यो ठाउँ छाडेर भागेका वा लोप हुँदै गएका माछा, कीटपतङ्ग, चराचुरुङ्गी सबै फर्किए। हामीलाई वन ब्युँताउन पाएकोमा साह्रै खुसी लागेको छ। मलाई त आफ्नै पुनर्जन्म नै भएको जस्तो लाग्छ,” सेबास्टियोलाई उद्धृत गर्दै ब्लाजेन्काले उल्लेख गरेकी छन्। अब आफ्नै देशका कुरा गरौँ। किन अरूकै मात्र कुरा गरेर समय कटाउने ?

हाम्रो देशमा पनि यस्ता कैयौँ ठाउँ छन्। हामी पनि सेबास्टियोको जोडीको जस्तै आजकै दिन काम सुरु गरौँ न। यसबाट वातावरण मात्र सफा बन्ने होइन, दाम पनि कमाइ हुन्छ। वैज्ञानिकहरूका अनुसार, एउटा हुर्केको रुखले दैनिक चार जना मानिसलाई पुग्ने गरी अक्सिजन दिन्छ। त्यस्तै कोभिड–१९ का बेला भएको अक्सिजनको हाहाकारमा गरिएको एक हिसाबअनुसार मानिसले आफ्नो जीवनकालमा करिब १० करोड रुपियाँको अक्सिजनको सास फेर्छ। त्यो पनि मानिसको सरदर आयु ७५ मान्दाको हिसाबले। यदि त्यसो भए त एउटा रुखले ४० करोड रुपियाँ मूल्य बराबरको अक्सिजन दियो त। 

रुखको आयु मानिसकोभन्दा धेरै नै हुन्छ। गाउँघरका बूढा वरका रुखहरू तीन पुस्तादेखिका भेटिन्छन्। हाम्रै छिमेकको वरको रुख हाम्रा १० पुस्ताअघिका जिजुबाले रोपेको भनिन्छ। कमसेकम पृथ्वीनारायण शाहको पालामा होला त्यो रोपेको। त्यसको फेदमा बनाइएको चौतारोमा छिमेकी गाउँका कति लासहरू बिसाइए। अब त कमसेकम लाख मानिसहरूको घाट लैजाँदा बिसाउने चौतारी बनिसकेको छ त्यो बरको रुख। यसरी हिसाब गर्ने हो भने त हाम्रै बरको रुखले अर्ब कमाइ ग-यो होला। विश्वमा हाल चार हजार वर्ष पुरानासम्म जीवित रुख भेटिएका छन्। सबैभन्दा बढी बाँच्ने रुख ओलिभ अथवा जैतुन हो। 

यस्तै रुखले दिने अर्को फाइदा भनेको कार्बन सिक्विन्स्ट्रेसन अथवा कार्बन आफूले ग्रहण गरेर राख्ने प्रक्रिया हो। वैज्ञानिकहरूले एउटा छिप्पिएको रुखले वर्षमा ३० केजी कार्बन सङ्ग्रह गरेर लिने बताएका छन्। हालसम्म एक केजी कार्बनको कति पैसा उठाउनुपर्छ भन्ने त्यस्तो कानुन त देखिँदैन तर अमेरिकाले भने वर्षमा बढीमा ५७ डलर प्रतिकेजीका दरले कार्बन कर लिन थालेको छ। यसबाट उठ्ने पैसा वनजङ्गल हुर्काउनेलाई प्रदान गर्ने अमेरिकीहरूको योजना छ। उसले सन् २०१९ बाट सुरु गरेको यस परियोजनाअन्तर्गत सन् २०२९ सम्ममा करिब ६० खर्ब रुपियाँ कर उठाउने योजना बनाएको छ। 

यो नियम एक वा दुई वर्षमा हाम्रोमा पनि आउँछ। अहिले नै सरकारले कार्बन ट्रेड सुरु गरिसकेको छ। जलवायु परिवर्तनसम्बन्धी ग्लास्गो सम्मेलनले नेपाललाई वार्षिक नौ करोड डलर अथवा करिब १० अर्ब रुपियाँका दरले रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेको छ। त्यसो त वन तथा वातावरण मन्त्रालयले विश्व बैङ्कको ऋणमा कार्बन ट्रेड परियोजना पनि सञ्चालन गर्दै आएको छ। यो परियोजना पूर्ण रूपमा लागू भइसकेपछि हामी पनि वनबाट आयआर्जन गर्न थाल्छौँ। यस्तो अवस्थामा हाम्रा डाँडापाखामा वन लगाउने परिपाटी विकास हुन्छ। हामी पनि लैलाका दम्पतीले जस्तै रुख हुर्काएर वातावरणमा सुधार गर्न सक्दछौँ। 

रुखका अन्य फाइदा त हामीले देखेकै छौँ, घाँसदाउरा, मल, पानीको स्रोत व्यवस्थापन, फलफूल आदि। यसमा सबैभन्दा बढी लाभ हुने भनेको फलफूलका रुखबाट हो। भूगोलअनुसारका फलफूलका बिरुवाले फल पनि दिन्छन् भने जलवायु परिवर्तनको असर कम पार्न पनि सहयोग गर्दछन्। फलफूलमा पनि हाम्रै गाउँघरमा पाइने किम्बु प्रजातिको बिरुवाबाट हामी सबैभन्दा बढी लाभ लिन सक्दछौँ। अचेल जताततै पाइने र यादै नगरिएको अर्को एउटा बिरुवा हो निम। यसले पर्यावरणमा ठूलो लाभ दिन्छ भने खेतीबारीका लागि मलदेखि विषादीका लागि पनि निकै सहयोगीसिद्ध भएको छ। पहाड र चुरेभावर क्षेत्रमा पाइने बकाइनो पनि घाँस, काठ र पर्यावरण सुधारमा निकै सहयोग गर्दछ। 

किम्बुलाई हाम्रोतिर खासै महत्व दिइँदैन। फल पनि खान पाइन्छ, घाँस पनि हुन्छ, छिटो बढ्छ, हाँगा पनि सर्छ, रेशम कीरा पाल्न सकिन्छ। हाम्रोतिर भनिने फाइदा यति नै हुन्। पश्चिममा भने किम्बु अथवा मलबेरीलाई निकै महत्वका साथ लिइन्छ। यसमाथि धेरै साहित्य सिर्जना पनि भएका छन्। विश्वविख्यात बेलायती कवि विलियम सेक्सपियरले सन् १६०९ मा बेलायतको स्ट्राटफोर्ड अपन एभनस्थित आफ्नो घरमा किम्बु रोपेका थिए। उनले यस बिरुवाबाट प्रभावित भएर धेरैवटा साहित्यिक कृति जन्माए भनिन्छ। 

अङ्ग्रेजी साहित्यका विभिन्न युगका लेखकहरूले किम्बुबारे कृति लेखेका प्रशस्त उदाहरण छन् तर सबैभन्दा बढी सुनिएको गीतचाहिँ बालबालिकाको नर्सरी राइम, हियर वी गो अराउन्ड त मलबेरी बुस भन्ने सबैभन्दा लोकप्रिय छ। 

चीनको हाइनिङ सहरमा सन् २०१४ देखि २०१६ सम्म गरिएको एक अध्ययनअनुसार, एक हेक्टर अथवा २० रोपनी अथवा डेढ बिघा जमिनमा लगाइएको किम्बुको जङ्गलले वर्षमा १५ टन कार्बन सङ्ग्रह गरी खानामा बदलिदिने जानकारी प्राप्त छ। यदि कार्बनका लागि अमेरिकी दरमा कर लगाउने हो भने यसले वार्षिक साढे आठ लाख डलर कमाइ हुन्छ, जुन हालको मुद्रा सटही दरमा नेपाली रुपियाँ १० करोडजति हो। डेढ बिघा जमिनमा अन्य कुनै पनि किसिमको व्यावसायिक खेती गरेर वर्षमा १० करोड आर्जन गर्न सकिँदैन। 

किम्बुका धेरै राम्रा पक्ष छन्। करिब सयवटा लाभ रहेको मेडिकल जर्नलहरूमा लेख पढ्न पाइन्छ। किम्बु फलले पाचनक्रिया नियमित गर्न, रगत पातलो पार्न, रक्तसञ्चारमा सुधार, क्यान्सरको जोखिम घटाउन, रोगसँग लड्न सक्ने क्षमता बढाउन, हाडभित्र मासीको विकास गर्न, मस्तिष्कको विकासमा सहयोग गर्नुका साथै कलेजो स्वस्थ राख्न सहयोग गर्दछ। यसको फल सुकाएर राख्न पनि सकिन्छ भने जाम, जेली तथा वाइन पनि बनाउन सकिन्छ। घाँस र रेशम कीरा पाल्न सकिने पनि अर्को लाभ हो। त्यसैले हामी लैला जोडीको कथा पढ्ने मात्र होइन बिदामा घर गएर पाखापखेरामा रुख लगाऔँ, स्वस्थ र समृद्धिको यात्रामा अघि बढौँ।