भर्खर टिपेका कपास कातेर, बुनेर तयार पारिएको कपडा चौखटमा तन्काएर राखेजस्तो । सेतो, उज्यालो । कुनै पनि रङका छिटासम्म नपरेजस्तो । म प्रदीप गिरीलाई चिन्दछु ।.........
सायद यही जानेर शिव भट्टराईले मलाई आग्रह गरेका हुन् । अगस्ट २०, २०२२ शनिबार प्रदीप गिरीको देहान्त भयो । २२ तारिख शिवले एउटा संस्मरण लेखिदिन भने । गोरखापत्र दैनिकले ‘शनिबार’ परिशिष्टाङ्क निकाल्ने गर्छ । यसपालि त्यसलाई प्रदीप गिरी विशेष बनाउने योजना रहेछ । सायद श्रद्धाञ्जलि ।
पत्रपत्रिका, सामाजिक सञ्जाल यत्रतत्र प्रदीप गिरीबारे लेखिएका छन् । लेखाइरहेका छन् । सबैले आ–आफ्ना किसिमले उहाँलाई सम्झेका छन् । सम्मान व्यक्त गरेका छन् । श्रद्धासुमन अर्पेका छन् । मैले पनि लेखेँ– ‘देहान्त भयो, विचारान्त होइन ।’ एउटा कालजयी विचारपुरुषलाई साभार श्रद्धाञ्जलि !
हाम्रो संस्कारले यो बखतलाई झोक्राउने बेला भन्छ । झोक्राएकाहरूले अरू के भन्ने के लेख्ने ? तर शिवको अनुरोध यथावत् थियो– ‘नलेख्ने भए केही बोलिदिनोस् म त्यसैलाई छाप्छु ।’
‘ठीक छ, म केही लेख्ने प्रयास गर्छु ।’
झन्डै पाँच दशक भयो– मैले प्रदीप गिरी थाहा पाएको । म किशोर, उहाँ तन्नेरी । उसबेला प्रदीप गिरी उर्लंदो खहरेको भेलजस्तो हुनुहुन्थ्यो । बीपीसँग पनि शिर ठाडो गरेर बोल्न सक्ने । तर्क, वादविवाद, संवाद गर्ने । तत्कालीन काँग्रेसी वृत्तमा यस्तै कुरा हुन्थे । उहाँलाई मन पराउनेहरू थोरै थिए । मन नपराउने धेरै थिए ।
बनारसमा उहाँको मानमर्दन गर्ने, गालीगलौज गर्ने, हुलहुज्जत गर्नेहरूको कमी थिएन । ती अरू कोही थिएनन्, उहाँकै पार्टी नेपाली काँग्रेसका कार्यकर्ता थिए । तिनीहरू उहाँसँग वैचारिक असहमति राख्ने आलोचक थिएनन् । ईष्र्यालु थिए । अझ भनौँ उहाँको बौद्धिक व्यक्तित्वबाट सन्त्रस्त, हीनताबोधले ग्रस्त थिए । ती, जो त्यसबेला प्रदीप गिरीका सङ्गी थिए, पछिसम्म उहाँकै सामीप्यमा रहे । वैरभाव राख्नेहरू पनि कालान्तरमा उहाँलाई प्रेम गर्न थाले, सम्मान गर्न थाले ।
मैले सुनेको एउटा प्रसङ्ग छ– आजित भएर प्रदीप गिरीले बनारस छाड्ने निधो गर्नुभयो । बीपीलाई भेटेर उहाँले आफ्ना कुरा राख्नुभयो । केही समय टाढा कतै गएर एकान्तवासमा अध्ययन गर्ने उहाँको सोचाइ थियो । बीपीले यथोचित सल्लाह–सुझाव दिनुभयो । साथै, ‘तिमीले पढिसकेका किताबहरू मलाई देऊ, म तिमीलाई खर्च दिन्छु’, बीपीले भन्नुभयो । प्रदीप गिरीले एक बाकस किताब पु¥याइदिनुभयो । बीपीले पाँच हजार भा.रु. दिनुभयो । संयोगले प्रदीप गिरीसँग मेरो भेट भयो । कुराकानी भयो । थोरै मैले भनेँ, धेरै उहाँको सुनेँ । म प्रभावित भएँ, मुग्ध भएँ । त्यसपछि जोडिएँ । लामो सन्निध्यता पाएँ, अद्यावधि पाइरहेको छु । यद्यपि अहिले म अमेरिकामा छु । १३ वर्षदेखि यतै छु । आक्कल झुक्कल फोनमा कुरा हुने गर्छ । उहाँ यता आउँदा गएर भेटेँ । नेपाल जाँदा भेट्ने प्रयास गर्छु । मिले भेट्छु । अब भने त्यो सम्भव भएन ।
उर्लंदो खहरेलाई मैले खोला, नदी, महानदी बनेको देखेको छु ।
अजस्र स्रोतस्विनी । जो महासागरमा पुगेर पनि मिसिँदैन । ठिङ्ग उभिन्छ ।
स्तम्भ भएर–अडिग ।
प्रकाश घर– लाइटहाउस ।
जोसँग बडे बडे जहाजहरूलाई बाटो देखाउने सामथ्र्य छ ।
प्रदीप गिरीलाई देखेका, सुनेका जानेका लाखौँ–करोडौँ छन् । तीमध्ये एउटा म पनि हुँ । मैले यो प्रशान्त महानदीलाई किनारै किनारबाट अविरल स्पर्श गरेको छु । कतिपय बेला अञ्जुलीमा भरेर आफ्नो तृष्णा भेटेको छु । म सतहको कुरा गर्न सक्छु । गहिराइको ज्ञान सायद मलाई छैन ।
गहिराइको ज्ञान भएकाहरू प्रशस्त छन् । हजारौँ छन् । ती अगाडि आउनुपर्छ–आउँछन् । तिनले भन्नेछन्, तिनले लेख्नेछन् ।
एउटा सफा ताजा चित्रपट ।............
शुभ्र, धवल ।
लाग्छ, तूलिकाले छोएकै छैन तर नियालेर हेर्दा प्रष्टिन्छ । त्यहाँ अनगन्ती रङहरू छन् । अन्तरकुन्तरसम्म अनेक थरी, नौला नौला रङहरू । सौम्य, शालीन सौन्दर्यले भरिपूर्ण । गम्भीर मधुर सुगन्धले भरिपूर्ण । हृदय र मस्तिष्क दुवैलाई झङ्कृत गर्न सक्ने सङ्गीतले ओतप्रोत ।
त्यो महान् क्यानभासलाई नमन !
नमस्कार प्रदीप गिरी !!