• ७ मंसिर २०८१, शुक्रबार

राजनीतिका विद्रोही कवीर

blog

प्रदीप गिरी जब रहनुभएन, अर्को बिहान ‘मुड’ धेरै ‘अफ’ थियो । विचलित र स्तम्भित ! केही गर्नै मन नलाग्ने । तथापि थाहा थियो उहाँको अब आश छैन तैपनि लाग्दथ्यो कतै कुनै ‘मिराकल’ हुन्छ कि । श्रीमतीले सोधिन् किन के भयो ? मैले भनेँ, 

‘ब्याड न्युज ! प्रदीप गिरी बित्नु भो !’ “को गिरी ? मैले बिर्सें’’, श्रीमती साधारण गृहिणी हुन् । मैले भनेँ, ‘माथिल्लो स्तरका एक योगी नेता थिए, गए ! त्यस बखत योभन्दा अर्को भाषा मनमा आएन उनलाई सम्झाउन ।

अब मलाई गाह्रो परिरहेछ प्रदीप दाइलाई कसरी सम्झनु– नेपाली काँग्रेसका एक मूर्धन्य नेता, समाजवादी आन्दोलनका एक शीर्ष दक्षिण एसियाली स्तम्भ, एक अभिनव अर्थशास्त्री, माक्र्सवादका गहन व्याख्याता, डा. राममनोहर लोहियाझैँ प्रकाण्ड विद्वान्, चिन्तक वा एक अद्वितीय वक्ता वा एक निर्भीक नेपाली ! 

प्रदीप दाइ अद्भूत हुनुहुन्थ्यो हरेक अर्थमा । म सम्झन्छु पन्ध्र वर्षअघि न्युरोडको साहित्यिक बिसौनीमा नेकामा के छ ? जस्तो प्रश्नमा मैले भनेको थिएँ, प्रदीप गिरी । प्रदीप दाजुसँग मेरो घनीभूत भेटघाट रहेन । बरु उहाँका अनुज शेखर गिरीसँग बढी संवाद भएको छ । शेखरकै माध्यमबाट प्रदीप दाइले मलाई गान्धी प्रतिष्ठानको सदस्यमा बस्न भन्नुभएको थाहा पाएको हुँ । 

कलिलो उमेरमै प्रदीप गिरीका प्रिय थिए तुलसी दास तर उहाँको जीवन दर्शन रह्यो कबीरझैँ फक्कड र विद्रोही । नेपालमा केही छैन, नेपालीमा दम छैन यसको जवाफ हुनुहुन्थ्यो प्रदीप गिरी । बीपीपछिका चिन्तक, एक उत्प्रेरक नेपाली ।

जब म गोरखापत्रमा थिएँ, सम्पादकको रूपमा धेरै प्रयास गरेँ, उहाँका विचार गोरखापत्रमा आओस् । धेरै आग्रह गर्दा पनि सकिनँ । एक पटक एउटा ‘रिसेप्सन’मा भनेँ, दाइ म पनि लोहियावादी । गोरखापत्रले केही अपराध गरेछ भने माफ पाऊँ ! सन्दर्भ सायद गणेशमानजीको थियो । उहाँले तुरुन्त आफ्नो सहयोगीलाई आदेशात्मक शब्दमा भन्नुभयो, ‘ल मलाई सम्झाउनु भोलि गोरखापत्रलाई लेख दिन्छु ।’ तर खै के भो त्यो लेख आउन सकेन । 

यी त भए तपसिलका कुरा, प्रदीप गिरीलाई मूल्याङ्कन कसरी गर्ने, कसरी हेर्ने नै आजको प्रश्न हो । उहाँ गिरिजाबाबुको नजरमा कहिल्यै चढ्नु भएन । उहाँलाई अर्थमन्त्री बनाइनु पथ्र्यो किनभने कुनै बेला लोहियाले नेपाललाई समाजवादको प्रयोगस्थल बनाउने सपना देखेका थिए । बीपीसँग लोहियाको सोच बिग्रियो यसको छुट्टै कथा छ । प्रदीप गिरी मूलतः लोहियावादी भए पनि कहिल्यै एकाङ्गी हुनुभएन । 

बीपीप्रति उहाँको आस्था अटल थियोे भन्ने कुरा उहाँका पुस्तक र विचारहरूले साबित गर्छ । उहाँ लोहिया र बीपीबीचको सेतु हुनुहुन्थ्यो । उहाँ धेरै सकसमा परे पनि काँग्रेस छाड्नुभएन । काँग्रेसको आलोचना गर्न पनि चुक्नुभएन, माया गर्न पनि छाड्नु भएन । आज जब पार्टीहरूप्रति वितृष्णा बढ्दै गएको छ, स्वयं काँग्रेस तपसिलका कुरामा लागेको छ । सत्ता र सङ्कीर्ण स्वार्थ, गुटबन्दी झाँगिएर दिशाहीन हुने अवस्थामा छ । आफ्ना प्रखर तर्क र इमानदार आलोचनाले प्रदीप गिरीले काँग्रेस हुनुको अर्थ विस्तार गर्नुभएको छ । उहाँले साबित गर्नुभयो, काँग्रेस हुनुको अर्थ मात्र सत्ता र जोडतोड होइन । पद, पैसा, प्रलोभन होइन । राजनीति भनेको निष्काम कर्मयोग हो । काँग्रेसले ताजा पार्टी निर्वाचनमा उहाँलाई केन्द्रीय सदस्य लायक पनि ठानेन तर पद उहाँको अभीष्ट थिएन । अभीष्ट थियो जनताका समृद्धिका वास्तविक पथ, वास्तविक हित, दृष्टिकोण । यति सुस्पष्ट कि वामपन्थीहरूलाई समेत ईष्र्या हुनसक्छ । 

देश समाजवादोन्मुख हुन सकेको छैन । सादगी, सरलताको जीवनमूल्यको समाजवादसंँग कुनै सम्बन्ध छ कि छैन ? अगाडि गाडी, पछाडि गाडी, माथि हेलिकप्टर, तल पानी जहाज भुइँमा खुट्टा टेक्दै नटेक्ने ! राजा महाराजाहरूलाई लज्जित गर्ने खालको धार हाम्रो भयो । यो कुरो प्रदीप गिरीले मात्र भन्न सक्नु हुन्छ । विकासको एउटा मोडल संसारभरि असफल भयो । अर्को मोडल ‘अल्टरनेटिभ डेभलपमेन्ट’को मोडलबारे सोचौँ, बेरोजगारहरूका बारेमा सोचौँ, विदेशमा खटिरहने नेपालीलाई फिर्ता बोलाउनेबारे सोचौँ । प्रदीप गिरीले मात्र भन्न र सोच्न सक्नु हुन्छ कि सबै उत्पीडितले न्याय पाउनुपर्छ । उच्च जातीय अहङ्कार, श्वेत अहङ्कार बन्द हुनुपर्छ । 

कलिलो उमेरमै प्रदीप गिरीका प्रिय थिए तुलसी दास तर उहाँको जीवन दर्शन रह्यो कवीरझैँ फक्कड र विद्रोही । नेपालमा केही छैन, नेपालीमा दम छैन यसको जवाफ हुनुहुन्थ्यो प्रदीप गिरी । बीपीपछिका चिन्तक, एक उत्प्रेरक नेपाली । 

गिरीले आफु लाई आफ्नै साधना, आफ्नै ल्याकतले खडा गर्नुभएको थियो । उहाँलाई गिराउनेहरू आफैँ गिरे । गिरी भने हिँड्दै रहे– पार्टीमा बसेर पनि टैगोरको ‘एकला चलो’को गीतको धुनमाझैँ । गिरी समयको धार बदल्ने नेता हुनुहुन्थ्यो । तेजस्वी यति कि उहाँमा बी.पी. पनि थियो, लोहिया पनि, किसुनजी पनि, गणेशमान पनि । यति हुँदाहुँदै पनि उहाँ एकातिर विलीन हुनुभएन ।

उहाँमा प्रेरणाको स्रोत बहुआयामिक थियो । अफशोच, गिरी जिउँदो छँदा नेपाली काँग्रेसले गिरी हुनुको अर्थ खोज्न चाहेन वा सकेन तर उहाँको सादगी, उहाँको साधना, उहाँको सच्चाइ, सोच शक्ति र उहाँको समर्पणको लाभ उठाउन सकेन । गिरी साधारणजस्तो लाग्ने असाधारण नेता हुनुहुन्थ्यो । योभन्दा पनि असाधारण व्यक्ति हुनुहुन्थ्यो । उहाँले कवीरको वचनमा अडिग भएर बाँच्न भरपुर कोसिस गर्नुभयो । प्रदीप सधैँ जन्मँदैनन्, उहाँ समयभन्दा धेरै अघि आउनुभएको हो, धेरै पछिसम्म रहिरहनु हुनेछ । 

अन्त्यमा, प्रदीप गिरी बन्नुको एक लामो प्रक्रिया छ । कति नेता आए, गए, मन्त्री बने, प्रधानमन्त्री बने, कति कति रूप बदले, कति कति तिकडम गरे । पद, पैसाका लागि कति गिरे । दुनियाँबाट जाने बेलामा उनीहरूसँग के होला ? हात लागे शून्य ! प्रदीप गिरीसँग धेरै छ दुनियाँ छाडेर जाँदा । नेपालीले प्रदीप गिरीसँग लिने धेरै थोक हुनेछ, युट्युब र गुगल मात्र खोले हुन्छ ।

Author

सीताराम अग्रहरि