• ७ मंसिर २०८१, शुक्रबार

शोकाप्ति ! उहाँकै शब्द सापटी

blog

मनीषी प्रदीप गिरीको स्मृतिमा गोरखापत्रले प्रकाशन गर्न लागेको विशेषाङ्कको नाम राख्ने सल्लाहमा हामी थियौँ । स्वाभाविक रूपमा मैले प्रस्ताव गरेँ- शोकाप्ति ! केही मित्रलाई भने यो स्वाभाविक लागेन । अनि व्यर्थमा शब्दकोश पल्टाइए । अर्थ पाउनु त परै जाओस् शब्द नै पाइएन । 

हो, शोकाप्ति शब्दकोशमा चढेको छैन तर यो बिना अर्थको र सन्दर्भ पनि नमिल्ने शब्द भने हुँदै होइन । न त यो मैले तत्काल नवनिर्माण गरेर फ्याट्टै भनिदिएको शब्द हो । भाषामा नवनिर्माणबारे पनि उही ताल हो । हाम्रा शब्दकोशमा अर्थ भेटिन्न अङ्ग्रेजीमा भने  ‘निओलोजी’ पाइन्छ ।

भाषामा नवनिर्माण हुन्छ र संस्कृतका तत्सम शब्दमा त यो झन् बढी स्वाभाविक हुन्छ । तर शास्त्रीय मतले चाहिँ शब्द निर्माण गर्न हुँदैन भन्छ । शोकाप्ति नवनिर्माण हो तर यो कसले गर्यो थाहा छैन । 

मैले गरेको शोकाप्ति शब्दको प्रयोग मेरो नवनिर्माण होइन तर यो नै मैले गरेको पहिलो प्रयोग पनि होइन । मैले गरेको शोकाप्ति शब्दको पहिलो प्रयोग २०७७ भदौ ७ गते शनिवारको गोरखापत्रमा नै हो । २०७७ भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएपछि उहाँप्रति शोकपूर्ण सम्मान दर्शाउन “प्रिय राष्ट्रकवि 

‘अबिच्योरी’ होइन मेरो शोकाप्ति” मैले शीर्षकमा शोकाप्ति लेखेको थिएँ । वास्तवमा मैले लेखेको त्यो शोकपूर्ण सम्मान थियो । मेरो त्यो शोकाप्ति प्रदीप गिरीबाट नै सापटी लिइएको शब्द थियो । कोही दिवङ्गत हुँदा हतार हतार गरेर ‘अबिच्योरी’ लेख्ने चलन छ । प्रदीप गिरी त्यसको विरुद्धमा हुनुहुन्थ्यो । त्यसैले उहाँले ‘अबिच्योरी’ को साटो शोकाप्ति प्रयोग गर्नुभएको थियो । 

कसैको मृत्युमा बाहेक सितिमिति प्रयोगमा नआउने नै शब्द हो– शोकाप्ति । भाषाका शब्दको प्रयोग कि त लोकको बोलीमा हुन्छ कि विद्वत् वर्गको बौद्धिक बहसमा पाइन्छ । मेरा लागि शोकाप्ति तिनै विचारशील प्रदीप गिरीको नवनिर्माण र प्रयोग थियो । त्यसैले लेखेको थिएँ —

“मैले शोकाप्ति शब्दको प्रयोग राजनयिक विद्वान् प्रदीप गिरीबाट सुनेको हुँ । कसैको निधनपछि उनको जीवनवृत्तबारे गिरीले टेलिभिजनमा दिएको विचारमा यो शब्दको प्रयोग सुनेको हुँ । ती दिवङ्गत को थिए भन्ने भन्दा पनि मलाई शोकाप्ति शब्दले प्रभाव छाड्यो । त्यसैले ती दिवङ्गतप्रति उदासीन बनेछु तर यसो भन्दा उनीप्रति मेरो असंवेदनशीलता भने होइन । सायद मानवीय गुण पो हो कि ? बरु म दिवङ्गतबारे उदासीन हुनु र उनी को थिए भन्ने पनि थाहा पाउन नसक्नुसँग सम्भवतः शोकाप्तिको भावनात्मक अर्थ गाँसिएको हुनुपर्छ । त्यसैले मलाई दिवङ्गतको व्यक्तित्वले भन्दा शोकाप्ति शब्दको प्रयोगले तान्यो । तर, त्यसको प्रयोग वा शब्दनिर्माण अथवा अर्थ खोज्न शब्दकोशहरू पल्टाउने जमर्काे नै गरिनँ । किनभने त्यसको प्रयोगको अवस्था नै आएन । अर्थात् मैले शोकाप्ति नै लेख्नुपर्ने प्रिय मानिसलाई मैले त्यसबीचमा गुमाउनुपरेन ।”

स्पष्ट भयो शोकाप्ति शब्द शब्दकोशमा पाइँदैन । यो भावनामा पाइन्छ, विद्वत्तामा पाइन्छ, जसमा शोकको आप्ति हुन्छ । अर्थात् शोक र आप्ति शब्द खोजेर संयोजन गर्ने हो भने मजाले शोकाप्ति बन्दछ जसको अर्थ हुन्छ– शोकपूर्ण अवस्थामा सम्मान प्रकट ।

यो नवनिर्माण हो तर शास्त्रीय होइन । प्रदीप गिरी शास्त्रीय मत राख्दै शास्त्रलाई नै नवनिर्माण गर्नुहुन्थ्यो शब्दको त के कुरा भयो र ! उहाँको विचार, सादगीपन, लोभलालचरहित निःस्वार्थ कर्म उहाँप्रति शोकाप्तिको व्याप्ति बढाउने उदाहरण हुन् । 

विसं २००२ कात्तिक २१ गते यस धर्तीमा पदार्पण गरेर यस्तै र अनेकौँ असल काम गरेर २०७९ भदौ ४ गते महाप्रस्थान गरेका त्यस्ता समादरणीय मनीषी प्रदीप गिरीप्रति उहाँकै शब्द सापटी लिएर हामीले शोकाप्ति व्यक्त गरेका छौँ । प्रदीप गिरी तपाईँलाई हृदयदेखि शोकाप्ति !

Author

केदार वाशिष्ठ