वीरगञ्ज भन्सारद्वारा १ खर्ब ५५ अर्ब रुपियाँभन्दा बढी राजश्व संकलन
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । मुलुककै प्रमुख नाका वीरगञ्जमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपियाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५१ अर्ब ९३ करोड १४ लाख २३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व असुली गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले दिएको लक्ष्यभन्दा २ दशमलव ३ अर्थात् ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार रुपियाँ राजश्व असुल गरेको हो । गत आर्थिक वर्षमा २०७७–७८ को सोही अवधिमा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपियाँ राजश्व असुली भएको थियो । भन्सार विभागले १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिनामध्ये साउन, कात्तिक, पुस, माघ, फागुन र चैत महिनामा भन्सार विभागले दिएको राजश्व संकलन गर्ने लक्ष्य भेट्टाउन सकेको छैन । साउन महिनामा लक्ष्यको ९९ दशमलव ५ प्रतिशत, कात्तिक महिनामा लक्ष्यको ९७ दशमलव २ प्रतिशत, पुस महिनामा लक्ष्यको ९७ दशमलव ७ प्रतिशत, माघ महिनामा लक्ष्यको ९५ दशमलव ९ प्रतिशत, फागुन महिनामा लक्ष्यको ९८ दशमलव ७ प्रतिशत र चैत महिनामा लक्ष्यको ९२ दशमलव ५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।
आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित जीतबहादुर विकको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । विहीबार मध्यान्ह १२ बजे आगलागी भई घर र गोठ जलेर नष्ट भएको पर्साको ठोरी गाउँपालिका १ का आगलागी पीडित विकको परिवारलाई ठोरी गाउँपालिका, नेपाली काँग्रेस ठोरी कमिटी र दलित विकास केन्द्रले बेग्लाबेग्लै राहत सामग्री हस्तान्तरण गरेको हो ।आगलागी पीडित परिवारलाई गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठसहितको टोलीले दिउँसो आगो निभाउनेबित्तिकै अत्यावश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । विहीबार साँझ दलित विकास केन्द्रले आगलागीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस ठोरी कमिटीले शुक्रबार बिहानै आगलागी पीडित परिवारलाई चामल, दाल, तेल, नुनलगायतका अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरेको थियो । काँग्रेस मधेश प्रदेशका महामन्त्री एवं काँग्रेसकातर्फबाट आगलागी पीडित विक परिवारलाई अति आवश्यक खाद्य सामग्री हस्तान्तरण गरिएको काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । ठोरी गाउँपालिका १ सरस्वतीनगर फायरलाइनमा आगलागी हुँदा विकको घर, गोठ र भान्साघर जलेर नष्ट भएको तथा आगलागीबाट १५ लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । स्थानीय जगेन्द्र पौडेलकाअनुसार वीरगञ्ज र पोखरीयाबाट आएका वारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना एवं स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय तहको निर्वाचन नजिकिएकाले आगलागी पीडितलाई राहत सामग्रीको ओईरो लागेको भनी सामाजिक सञ्जालमा टिक्काटिप्पणी हुन थालेको छ ।
आगलागीमा परी सप्तरीमा बालकको मृत्यु
ललिता साहसप्तरी, वैशाख २ गते । आगलागीमा परी शुक्रबार सप्तरीमा एक बालकको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैया टोलस्थित शत्रुधन यादवको घरमा आगलागी हुँदा उहाँका ८ वर्षीय छोरा शैलेशकुमार यादवको जलेर मृत्यु भएको हो । स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार दिउँसो ३ बजे एक्कासि घरमा आगो लागेको र बालक घरभित्रै हुँदा उनको जलेर मृत्यु भएको हो । ‘फुसको गोठ हुँदै आगो चार कोठे पक्की घरमा पुगेको थियो । आगो नियन्त्रणमा लिन समय लाग्दा घर भित्र रहेको बालकको ज्यान गएको हो ।’ उहाँले भन्नुभयो । सप्तरी प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले घटनाको क्षतिबारे विवरण प्राप्त भइनसकेको जानकारी दिनुभयो । तर, आगलागीमा लाखौं रुपियाँ बराबरको धनमालको क्षति भएको उहाँको अनुमान छ ।
मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै
विजयकुमार साह ढल्केवर, वैशाख २ गते । मिथिला क्षेत्रमा शुक्रबार परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन बिहीबार ‘सतुवाइन’ र आज दोस्रो दिन आज ‘जुडशीतल’मनाइएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यसपर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशिर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाई पनि गर्ने गरिन्छ । सो अवसरमा शुक्रबार विहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखि वर्षभरि ‘मगज ठण्डा रहोस्’ भनेर आशिष दिने चलन छ । यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजन नै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोको पूजा पनि गरिन्छ । सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी खाना, दही र चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका खानाको परिकार नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।
जनलहर चलेकाले एक्लै चुनावमा उठ्ने काँग्रेसको निर्णय
कन्हैयालाल केशरी पर्सा, वैशाख १ गते । पर्सा जिल्लामा नेपाली काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता गठबन्धन दलसँग गठबन्धन आवश्यक नभएको नेपाली काग्रेँस जिल्ला कार्य समितिका प्रवक्ता रमेश पाण्डेले बताउनुभएको छ । प्रवक्ता पाण्डेले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुले जिल्ला कार्यसमितिमा बुझाएको प्रतिवेदनको आधारमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका र १४ वटा पालिकाहरुमा नेपाली काग्रेँस एक्लै चुनाव लड्न सक्षम रहेको र काग्रेँसप्रति सर्वसाधारणहरुको आकर्षण र भरोसा बढ्दै गई काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता साझेदार दलसँग गठबन्धन गर्नुको कुनै ओचित्य नभएको बताउनुभयो । उहाँका अनुसार २०७४ सालको निर्वाचनमा मधेसी दलहरुका पक्षमा जनलहर चलेको समयमा पनि कतिपय पालिकामा काग्रेँस पहिलो र दोस्रो स्थानमा रहेको अनुभवबाट पनि पर्सामा गठबन्धनको आवश्यकता देखिएन । जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्रीले पाचँ वर्षसम्म कार्यकर्ताहरुले नेपाली काग्रेँस प्रति समर्पित भएर काम गरेको फल पाउने समय स्थानीय तहको निर्वाचनमा भागबण्डाको आधारमा निर्वाचनबाट वञ्चित गर्दा घातप्रतिघात हुने बढी सम्भावना प्रबल रहेको बताउनुभयो । उहाँले केही दिन भित्रै हुने सङ्घीय र प्रादेशिक निर्वाचनमा समेत यसको प्रत्यक्ष असर पर्ने भएकाले यसमा सचेत भई कुनै पनि निर्णय गर्न केन्द्रीय तहका नेताहरुले गर्दा जिल्लास्तरीय नेता र सर्वसाधारण कार्यकर्ताहरुको भावना विपरीत केन्द्रले आफ्नो निर्णय जिल्लामाथि थुपार्न खोजे पार्टी ठूलो दुर्घटनामा जानसक्ने भएकाले समयमै विचार गर्न सबै तहका नेता र कार्यकर्ताहरुसँग आग्रह पनि गर्नुभयो ।
सिरहा सलहेसमय
सन्तोष सुवेदी / जिवछ यादवसिरहा, वैशाख १ गते । प्रत्येक वर्ष झैँ यस वर्ष पनि नयाँ वर्षको आगमनसँगै सिरहा जिल्ला सलहेसमय भएको छ । लोकनायकका रूपमा चिनिने चौधौँ शताब्दीका प्रतापी राजा सलहेसको गाथाको सम्झनामा सिरहाको विभिन्न स्थानमा नयाँ वर्षको आगमनसँगै विशाल मेला र महोत्सव आयोजना हुँदै आएको छ ।सलहेस गाथाको सम्झनामा नयाँ वर्ष २०७९ को पहिलो दिनदेखि नै लहानस्थित सलहेस फूलबारी, पकडियागढ, सिरहा सदरमुकामस्थित महिसोथागढ, लक्ष्मीपुर पतारीस्थित पतारी पोखरीमा विशाल मेला महोत्सव लाग्ने गरेको छ । तीसबै मेला महोत्सवमध्ये मधेस प्रदेशको मुख्य सहर लहान नगरपालिका–१२, मा रहेको सलहेस फूलबारीमा फुल्ने मालाकार फूल सबैको आकर्षणको केन्द्र बन्दै आएको छ ।पूर्व, पश्चिम लोकमार्गको लहानको मुख्य चोकदेखि चार किलोमिटर पश्चिममा रहेको सलहेस फूलबारीका दुईवटा रुखमा प्रत्येक वर्षको पहिलो दिन फुल्ने उक्त मालाकार फूललाई राजा सलहेस र उहाँकी प्रेमिका मालिनीबीचको प्रेमको प्रतिरूप मानिँदै आएको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो तथा रमणीय वनमा रहेका सयौँ वर्ष पुराना रुखहरूमध्येका दुईवटा ‘हारम’ जातको रुखमा ती फूलहरू फुलेपछि बल्ल नयाँ वर्ष आएको महसुस हुन्छ स्थानीयवासीलाई । स्थानीय भाषामा हारम भनिने ती दुईवटा रुखमा फुलेका फूलका माला चौधौँ शताब्दीका लोकनायक सलहेसलाई उहाँकी प्रेमिका मालिनीले लगाइदिने फूलको माला मानिन्छन् । सलहेस गाथाका अनुसार, राजा सलहेस प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फूलबारीमा आफ्ना साथीसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग वनविहार गर्ने गरेका विश्वास छ । सलहेसले एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने, सलहेसगढमा कुलदेवीको पूजा गर्ने र प्रजाका पीरमर्का सुन्ने गरेको किम्वदन्ती छ । वि. सं. १३२५ मा महिसोथा राज्यका राजा सलहेस र उहाँकी प्रियसी मालिनीबीचको प्रेम सम्बन्ध प्रगाढ भएपछि मालिनीलाई भेट्न उक्त फूलबारीमा आउने भएकाले नै उक्त फूलबारी सलहेसका नामले प्रसिद्ध हुन पुगेको कथन छ । वनविहारका लागि प्रेमिका मालिनीसँग भेट्न आउँदा मालिनीले राजा सलहेसलाई स्वागतका निम्ति फूलको माला लगाइदिने गर्दथिन् । सलहेस र मालिनीबीचको प्रेमकै प्रतिरूप स्वरूप प्रत्येक वर्षको वैशाख १ गते मालिनीको मन्दिर (गहबर) छेउको रुखमा फुल्ने फूलका मालाहरू उहाँहरूकै प्रेमको प्रतीक हो भन्ने जनविश्वास छ । फूलबारीमा अनेकौँ रुखहरू भए पनि माला आकारको ती फूलहरू मालिनीको गहबर छेउमा एउटै जराबाट निस्केको दुईवटा रुखमा मात्र देखिने गरेको छ । माला आकारको फूल फुल्ने रुखमुनि रहेको मन्दिर (गहबर)भित्र हात्तीमा चढेका सलहेस र उहाँका प्रेमिका दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि कहिल्यै नसुक्ने दलदले खोला पनि छ ।मालिनीको गहबर छेउको एउटै जराबाट निस्केको दुईवटा रुखमा देखिने माला आकारको फूलको रूपमा सलहेस र मालिनी प्रत्येक वैशाख १ गते स्वयं प्रकट हुने गरेको विश्वास गरिन्छ । ती माला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरूबाट सर्वसाधारणहरू घुँइचो लाग्ने गरेको छ । मिथिलाको हावापानी, खेतखलो, गाउँघर, वनजङ्गल सर्वत्र लोकप्रिय पात्र हुन् राजा सहलेस । राजर्षी राजा जनकपछि मिथिलामा प्रादुर्भाव भएको दोस्रो व्यक्तित्वको रूपमा सलहेसलाई मानिन्छ । महिसोथागढ जसलाई हालको सिरहा सदरमुकामको रूपमा लिइन्छ, राजा सलहेसको गाथालाई चीरस्थायी बनाउन गत आर्थिक वर्षदेखि सुरु गरिएको ठूलो मन्दिरको निर्माण अहिले अन्तिम चरणमा छ । उहाँको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो ।सलहेसलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही पात्रका रूपमा चिनिन्छ । उहाँलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवान्का रूपमा पूजा गर्ने गर्छन् ।पराक्रमी राजा सलहेसको गाथासँग जोडिएको हुनाले सलहेस फूलबारी र सिरहा सदरमुकामस्थित महिसोथागढको साथै लहान नगरपालिका–१८, स्थित पकडिया गढ, २० नम्बर वडास्थित ब्राह्मण गोर्छारी, २४ नम्बर वडास्थित मानिक दह र लक्ष्मीपुरपतारी गाउँपालिकास्थित पतारी पोखरीमा सँगसँगै मेला आयोजना हुने गरेको छ । ती स्थानहरूमा राजा सलहेसलगायत उहाँको गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सवार मूर्तिहरू देख्न पाइन्छ । मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन अनेक किसिमका भाकलसमेत राख्ने गरेको पाइन्छ । भाकल पूरा भएपछि सलहेसलाई बोका, पाठीको बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो फूलबारीमा सलहेसलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ । धार्मिक पर्यटकको आगमन लहानस्थित सलहेस फूलबारी मेलामा दुई दिनअघिदेखि भारतीय पर्यटकहरू आउन थालेका छन् । विगत दुई वर्ष कोरोना कहरको कारण भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बङगालबाट आउन नपाएकोले यसवर्ष दुई दिनअघिदेखि नै भारतीय पर्यटक आउन सुरु गरेको सलहेस फूलबारी मेला समितिका सदस्य तथा लहान–२२, का अध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो । यस वर्ष मौसम पनि अनुकूल रहेको र कोरोनाको कहरसमेत नरहेकाले निकै बढी भीड हुने सम्भावनालाई ध्यानमा राखेर मेलाको सुरक्षा र मेला भर्न आउनेहरूलाई सहयोग पु¥याउन लहानको नगर प्रहरी, इलाका प्रहरी कार्यालय लहान, स्थानीय स्वयं सेवक र सरसफाइको लागि स्वीपर, स्वास्थ्यकर्मीलाई परिचालनको विशेष तयारी भइरहेको लहान नगरप्रमुख मुनि साहले बताउनुभयो ।